अराजकतालाई बढावा दिनका लागि गठबन्धन सरकार बनेको एमाले महासचिव पोखरेलको आरोप


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७८ मा प्रकाशित





नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अराजकतालाई बढावा दिनका लागि वर्तमान गठबन्धन सरकार बनेको आरोप लगाएका छन् । नेकपा एमाले कास्कीले नेपालीहरुको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘यो मुलुकको राजनीतिक स्थायीत्व हुन्थ्यो, विकास र समृद्धि हुन्थ्यो, सुदृढ लोकतन्त्र हुन्थ्यो त्यसलाई धरासायी बनाउन हो गठबन्धन । यो गठबन्धन राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको मुद्धालाई कमजोर बनाउनका लागि हो । समाजमा देखिएका अराजकतालाई बढावा दिन हो । सामाजिक सद्भावलाई खल्बलाउनका लागि हो ।’ वर्तमान सरकार विदेशीको स्वार्थमा घुँडा टेक्नका लागि लाज नमान्ने शक्तिहरुको हो,उनले भने,‘यो सरकार लोकतन्त्रको बिरुद्ध छ । गणतन्त्रको बिरुद्ध छ । मुलुकको आर्थिक विकास र समृद्धिका बिरुद्ध छ ।’

सरकार ढालेपनि एमाले आफूले उठाएका विकास र समृद्धिको संकल्प पूरा गर्न कहिल्यै पछि नहट्ने नेता पोखरेलले बताए । ‘हामी जुनसुकै ठाउँमा रहौं वा पुगौं । हामी हाम्रो मुद्धा कुनैपनि हालतमा छाड्दैनौं । एमाले आफ्ना मुद्धाबाट एक ईञ्चपनि तलमाथि गर्ने छैन ।’–उनले भने ।

महासचिव पोखरेलले ओली नेतृत्वको एमाले सरकारले गरेका राम्रा कामहरु उल्टाउने प्रयास वर्तमान सरकारले गरिरहेको भन्दै विरोध जनाए । तर त्यसलाई एमालेले सम्भव हुन नदिने चेतावनी दिए । ‘हिजो गरिएका राम्रा कुराहरुलाई सरकारले खण्डित गर्ने कोशिष गरिएको छ । यो सम्भव हुने वाला छैन । हामी त्यसलाई सम्भव हुन दिनेवाला छैनौं’–उनले भने ।

एमाले महासचिव पोखरेलले अहिले देश दुई ध्रुवमा विभाजित भएको बताए । उनले भने,‘एकातिर राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अराजकताको अन्त्य, विकास र समृद्धिको मुद्धा उठाउने र अर्कातिर रास्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउने, अराजकता मच्चाउने, विकास र समृद्धि हुन नदिने शक्तिहरु गरि दुई ध्रुवमा देश विभाजित छ ।’ उनले यो दुई ध्रुव मध्ये जनतालेपनि एउटा ध्रुवमा लाग्नुपर्ने अवस्था आएको बताउँदै भने,‘विकास, सुशासन, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको मुद्धा एमाले वा कम्युनिष्टहरुको मात्रै होइन । विकास र समृद्धि चाहनेहरुको मुद्धापनि हो, त्यसैले यो ध्रुवमा सबै उभिन जरुरी छ ।’

कार्यक्रममा बोल्दै एमाले सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले एमालेबाहेक अन्य पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्न नसक्ने ठोकुवा गरे । उनले वर्तमान सरकार दलाल पुँजीवादी, नोकरसाहीहरुको मतियार भएको आरोपसमेत लगाए ।

एमाले केन्द्रीय सदस्य खगराज अधिकारीले विदेशी शक्तिको सेटिङमा एमाले विभाजन गरिएको भन्दै यो कदापी स्वीकार्य नहुने बताए ।

अर्का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले विगतका कमीकमजोरी सच्याएर फेरीपनि अग्रगामी शक्तिहरुबीच एकता गर्दै लोकतन्त्र, गणतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दामोदर बैरागीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।