बाढीपहिरो पीडितलाई सहयोग गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७८ मा प्रकाशित



उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अनपेक्षित वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितको सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उपराष्ट्रपति पुनले आज जारी गर्नुभएको वक्तव्यमा बाढीपहिराका कारण जीवन गुमाएका परिवारलाई उचित सहायता, घरबारविहीनका लागि घर निर्माणमा सहयोग गर्न भनिएको छ ।

वक्तव्यमा भनिएको छ, “म बाढीपहिराका कारण जीवन गुमाउनुभएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरविहीन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” देशभर बाढीपहिरामा परी बेपत्ता हुनुभएकाको अवस्थाका बारेमा आफू अत्यन्तै चिन्तित भएको तथा बाढीपहिरो प्रभावितको खोजमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयास अझै प्रभावकारी बन्ने विश्वास लिएको उहाँले उल्लेख गर्नुभएको छ ।

“बाढी पहिराको जोखिममा रहनुभएकाहरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि भइरहेको कार्यलाई तीव्र बनाउन ध्यानाकर्षण गराउँदछु,” वक्तव्यमा भनिएको छ, “विस्थापितहरुका लागि पर्याप्त राहत र घाइतेहरुको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको छु ।” बेमौसी वर्षाबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको, सयौँ परिवार विस्थापित हुनुपरेको घटनाप्रति उपराष्ट्रपति पुनले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीपहिराका कारण ज्यान गुमाउनुभएका सबैमा श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न स्थानमा बाढी र पहिराका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनस्र्थापनामा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले आज जारी गर्नुभएको वक्तव्यमा विपद्का बेलामा संयुक्त पहल र प्रत्यन्त गर्न आग्रह गर्नुभएको छ । उहाँले बाढीपहिराका कारण ठूलो धनजनको क्षति भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।