शिक्षामा नीजि क्षेत्रलाई बेवास्ता गर्न सकिदैन : मुख्यमन्त्री पोखरेल

- 'अहिलेको शिक्षाले अक्षर चिन्ने पटमूर्खहरुको जमात मात्र उत्पादन ग¥यो’ : सिलवाल


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षा क्षेत्रमा नीजि क्षेत्रलाई बेवास्ता गर्न नसकिने बताएका छन् । उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेश समितिको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षामात्र नभई कुनैपनि क्षेत्रमा नीजि क्षेत्रलाई बेवास्ता गर्न नसकिने बताएका हुन् । ‘जुन देशको इकोनोमी (अर्थतन्त्र)मा नीजि क्षेत्रले ८० प्रतिशत ओगटेको छ, त्यसलाई बेवास्ता गरेर, निरुत्साहित गरेर कसरी अगाडि बढ्न सक्छ ? सक्दैन, हो यहिंनेर कमजोरी छ हाम्रो’–उनले भने ।

मुख्यमन्त्री पोखरेलले संविधानले जे दिनु पर्ने थियो त्यो दिइसकेकाले अब त्यसको कार्यान्वयन मात्र बाँकी रहेको बताए । उनले भने,‘संविधानले आधारभूत शिक्षाको ज्ञारेन्टी गरेको छ, माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षा भनेकै छ, पिछडा वर्गलाई पनि समेटेकै छ, अब खाँचो भनेको यसको कार्यान्वयनको मात्र हो ।’ उनले आधारभूत शिक्षाको गुणस्तर बढाउँदै अन्र्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न लायक बनाउनुपर्ने आवश्यक्ता रहेको औंल्याए । उनले सरकारी विद्यालयका शिक्षकहरुले नीजि स्कुलहरुको भन्दा तलब धेरै खाएपनि नतिजा भने ठीक उल्टो भएको बताए ।

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई शिक्षाको हब (केन्द्र) बनाउनुपर्ने बताए । पर्यटनको हब, खेलकुदको हब भइसकेको गण्डकी प्रदेशलाई शिक्षाकोसमेत हब बनाउन सकिने उनको भनाई थियो । उनले भने, ‘गण्डकी प्रदेशलाई शिक्षालगायतको धेरैको हब बनाउन सकिन्छ । विदेशी विद्यार्थीसमेत पढ्न आउन भन्ने परिकल्पनाका साथ गण्डकी विश्वविद्यालय स्थापना गरिएको हो ।’ उनले प्रदेशलाई शिक्षालगायत सबै क्षेत्रमा सबै प्रदेशहरु मध्ये एक नम्बर प्रदेश बनाउने आफ्नो सपना भएको भन्दै उक्त सपना सबै मिलेर पूरा गर्नुपर्नेपर्नेमा जोड दिए ।

हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले शिक्षाको संख्यात्मक विकास भएपनि गुणात्मक विकास नभएको बताए । ‘शिक्षा जनस्तरसम्म पुगेको छ, संख्यात्मक हिसाबले फड्को मारेको छ तर गुणात्मक बृद्धि भएन, अहिलेको शिक्षाले अक्षर चिन्ने पटमूर्खहरुको जमात मात्र उत्पादन ग¥यो’–उनले भने । यसमा शैक्षिक पूर्वाधारसहित गुणस्तरीय शिक्षक, वैज्ञानिक शिक्षा नीति, वा त्यो किसिमको पाठ्यक्रम के दिन सकेनौं त्यसको खोजि गरेर लागु गर्ने जिम्मेवारी आफूहरुमा आएको बताए ।

अध्यक्ष सिलवालले नीजि क्षेत्रलाई सरकारले सौतेनी व्यवहार गरेको गुनासो गरे । उनले भने,‘अब त्यसलाई सुधारौं, बरु हातेमालो गरौं, नीति बनाऔं र सहकार्य गरौं ।’ उनले विदेश भासिनेलाईपनि नेपालमै बस्ने वातावरण निर्माण गरिनुपर्ने भन्दै अगाडि थपे,‘गरिखाने शिक्षा कसरी बनाउने ? नेपाल भित्रै बस्ने वातावरण बनाउने ? प्रदेश सरकारले त्यो नीति ल्याओस् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।