बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन


     रासस     
     कार्तिक ८ गते २०७८ मा प्रकाशित




फाइल तस्विर :सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

काठमाण्डौं । सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।


बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल पुनरबीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन दररेटमा १५ प्रतिशतले वृद्धि गरेको छ । बैठकले कोडिभ–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।