सुडानमा सेनाले गरेको सत्ता कब्जाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको छ।
सेनाको गोली लागेर ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। सेना र प्रदर्शनकारीबीचको झडप भएको थियो।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाएअनुसार प्रदर्शनका क्रममा गोली लागेर १ सय ४० जना घाइते भएका छन्। सुडानमा सोमबार संक्रमणकालीन सरकारको नेतृत्व गरिरहेको सेनाले सत्ता कब्जा गरेको थियो।
सेनाले प्रधानमन्त्रीसहित थुप्रै नेतालाई गिरफ्तार गरेको थियो। सशस्त्र बलले नागरिक शासन अपदस्त गरी राजनीतिक नेताहरूलाई पक्राउ गरेर संकटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका हुन्। सो पछि सुडानका अधिकांश इन्टरनेट र टेलिफोन सेवा अबरुद्ध भएको छ।
हाल, त्यहाँको अन्तरिम सरकारका प्रधानमन्त्रीसहित थुप्रै सरकारी अधिकारीहरू र सरकार समर्थक दलका नेताहरू गिरफ्तार भएका छन्।
प्रधानमन्त्री अब्दल्लाह हमदोक र कम्तीमा ४ जना मन्त्रीहरूलाई सोमबार बिहानै उनीहरूकै घरमा अज्ञात सैनिकहरूले हिरासतमा लिएको विश्वास गरिएको छ। यद्यपि, सुडानको सेनाले यस बारेमा कुनै टिप्पणी गरेको छैन। तर, लोकतन्त्र समर्थक समूहका मानिसहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न अपिल गरेका छन्।
२ वर्षअघि शासक ओमार अल बसिरको बहिर्गमनपछि अन्तरिम÷संक्रमणकालीन सरकार गठन भएको थियो। त्यसबेलादेखि नै सेना र नागरिक सरकारबीच टकराब थियो। एक वर्षमा चुनाव गराएर नागरिक शासनको स्थापना गरी संक्रमण कालको अन्त्य गर्ने अन्तरिम सरकारको उद्देश्य थियो। तर, ठूलो संख्यामा रहेका प्रतिद्वन्द्वी राजनीतिक समूहहरूबीच र सेनाभित्रै पनि विभाजन भएपछि सो सम्झौता सधैँ विवादास्पद रह्यो।
प्रधानमन्त्रीलगायत मन्त्रीहरूको पक्राउपछि कसको हात रहेको भन्ने अझै प्रष्ट नभएको बीबीसीले जनाएको छ। सूचना मन्त्रालयले फेसबुकमा एक विज्ञप्ति जारी गर्दै ‘संयुक्त सैन्य बल’द्वारा पक्राउ गरिएको र उनीहरूलाई अज्ञात स्थानमा राखिएको बताएको छ।
प्रत्यक्षदर्शीहरूले राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द भएको बताएका छन्। जबकी सामाजिक सञ्जालका सन्देशहरूमा क्रोधित भीडले सडकमा टायर बालेका तस्बीरहरू देखिन्छ।
सेना र अर्ध सैनिक बल सहरभरी परिचालित भएका र नागरिक आन्दोलनलाई अवरोध गरिरहेका एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताए। खार्तुम विमानस्थल अहिले बन्द गरिएको छ। र, अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गरिएको छ।
सुडानको मुख्य लोकतन्त्र समर्थित समूहले आफ्ना समर्थकहरूलाई सैनिक ‘कू’को प्रतिरोध गर्न आह्वान गरेको छ। लोकतन्त्र समर्थक समूहहरूले पुनः शक्ति प्राप्त गर्न सैनिकले गरेको संगठित प्रयास भएको बताएका छन्। गत बिहीबार दशौँ हजार मानिसहरूले राजधानी खार्तुममा अन्तरिम सरकारप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका थिए।
सन् १९५६ मा स्वतन्त्र भएयता सुडानले व्यवहारिक राजनीतिक प्रणाली पत्ता लगाउन असमर्थ भएको छ र थुप्रै पटक ‘कू’ र ‘कू’ का प्रयासहरू भएका छन्।
बीबीसी/रोयटर्स
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







