निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन


     रासस     
     कार्तिक ९ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् ।

एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने आत्मविश्वासका लागि देशभर पार्टीका काममा क्रियाशील हुन म आह्वान गर्दछु ।”

एमालेले यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन गरेको थियो भने आज नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बाग्मती प्रदेशको चितवनमा हुँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।