, ,

सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न पाएन : अध्यक्ष पोखरेल


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न नपाएको गुनासो गरेका छन् ।

मंगलबार गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए ।


उनले भने, ‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको थियो । चरणबद्ध रुपमा विभिन्न छलफल भएता पनि कार्यन्वयन भएन र मिडिया विधेयक आउनबाट रोकियो ।’ सोही विधेयकलाई जस्ताको त्यस्तै पारित गरेर अहिलेको सरकारले ल्याउन खोजेमा महासंघको आपत्ति जनाएको छ ।

अघिल्लो सरकारको पालामा ल्याउन खोजिएको विधेयक हुबहु त्यही ल्याउँदा सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न नपाएको उनको गुनासो थियो ।

पोखरेलले लोकतान्त्रिक मुल्यमान्यता विपरित आएको मिडिया विधेयक पत्रकारका लागि मान्य नहुने बताए । प्रेस स्वतन्त्रताको विश्वव्यापी अभ्यासमा आधारित मिडिया विधेयक आउनुपर्ने धारणा उनको छ । मिडिया विधेयकलाई प्रेस मैत्री बनाउन मन्त्री विन्दुकुमार थापा र विधायन समितिका सभापति विष्णु प्रसाद लामिछाने सकरात्मक देखिएका छन् ।

नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभूवन पौडेल र प्रदीप काफ्ले, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, कास्कीका अध्यक्ष विमला भण्डारी, न्युनतम पारिश्रमिक समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली लगायतका टोलीले मन्त्रीलाई भेटेका हुन् । भेटकै समयमा पत्रकार महासंघको भवन निर्माणको विषयमा समेत सहजीकरण गर्न आग्रह गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।