आदिवासी जनजातीका समस्यामा सरकारले ध्यान दिनुपर्छ : आयोग अध्यक्ष थापा


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७८ मा प्रकाशित




पोखरा । आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापाले आदिवासी जनजातिहरुको समस्या राज्यले ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलबार पोखरामा पत्रकारहरुसँगको भेटघाटका क्रममा आयोगले दिएका सुझावहरु कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।


गतवर्ष माघ २१ गते आफू अध्यक्षमा नियुक्त भएपछि आदिवासी जनजातीका विषयमा अध्यन सुरु गरेको जानकारी दिए । एक वर्ष भरिमा भएका गतिविधि र सुझाव सहित वार्षिक प्रतिवेदन पनि तयार पारेको छ । सो प्रतिवेदन असोज २० गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । आयोगको प्रदेशमा शाखा नभएका कारण आफै प्रदेशका प्रदेश प्रमुखहरुलाई प्रतिवेदन बुझाउन हिडेंको बताए ।

सोही तालिका अनुसार सोमबार अध्यक्ष थापाले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई प्रतिवेदन बुझाएका थिए । असोज ७ गते प्रदेश १ र २ मा प्रतिवेदन बुझाएको उनले जानकारी दिए । बुधबार लुम्बिनी, बिहीबार सुदुरपश्चिम र शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिए ।

बाग्मती प्रदेशको प्रमुखलाई पनि प्रतिवेदन छिट्टै बुझाउने उनी बताउँछन् । ‘हामीले राष्ट्रपति र प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएका छौं,’ उनले भने, ‘उहाँहरुले संसदमा बुझाइएदिनुहुनेछ र हाम्रा माग सम्बोधन होला ।’
वार्षिक प्रतिवेदनमा राष्ट्रिय सभामा आदिवासी जनजातीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, व्यवस्थापिकामा सांसदको निर्वाचन तथा छनौटमा आदिवासी जनजातीको समानुपाती प्रतिनिधित्व गराउन संविधानको संसोधन र कानुन निर्माण गर्नुपर्ने, शिक्षा, सरकारी कामकाजमा मातृभाषाको प्रयोग गरिनुपर्ने लगायत भावी कार्यदिशा समेटिएको छ ।

वार्षिक प्रतिवेदनमा भएका भावी कार्यदिशा कार्यान्वयन गर्न सरकार लाग्नु पर्ने उनको भनाई थियो । ‘गहिरो अध्यन र अनुुन्धानबाट प्रतिवेदन तयार पारेका हौं,’ उनले भने, ‘सरकारले गराउने भनेको समृद्ध नेपाल सफल बनाउन पनि प्रतिवेदनको भावी कार्यदिशामा सरकार सकरात्मक हुनुपर्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।