स्पेनका सभामुख नेपाल भ्रमणमा


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित




बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपालको छ दिने भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै । तस्वीर : कृष्ण अधिकारी, रासस

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी हुनेछन् । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोली नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्पेन प्रस्थान गर्ने छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।