अभियानकप भलिबल : शुक्रवार चार खेल सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार चार खेलहरु सम्पन्न भएका छन् ।

अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले मिडिया टिम पोखरालाई सोझो सेटमा हराएको छ ।

शान्ताले २५–१३, २५–२२ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा मट्टिखान युवा क्लबले जागृती युथ क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

मट्टिखानले २५–१३, २५–१९, १९–२५ र २५–११ को सेटमा हराएको हो । तेस्रो खेलमा पोखरा टप्सले कृस्ती युवा मिलन मञ्चलाई २५–२०, २५–२० र २५–२० कै सेटमा हरायो ।

अन्तिम तथा चौथो खेलमा बाराही मा.वि.ले नव शिर्जनशील युवा क्लबलाई २५–१८, २५–१७ र २५–१७ कै सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगिता अन्तरगत शनिवार सेमिफाइनल सहित फाइनल खेल हुने क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल शान्ता भलिबल टे«निङ सेन्टर र पोखरा टप्सबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मट्टिखान युवा क्लब र बाराही मा.वि.बिच हुनेछ ।

प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै उपविजेताले नगद रु २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कार तर्फ भने ट्रफि रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।