पोखरा । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको वर्तमान संसदीय व्यवस्था भनेको टाउकोले टेकेर हिंडेको ब्यबस्था भएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले टाउकोले टेकेर हिंडेको वर्तमान व्यवस्थालाई साम्राज्यवादले बोकेर हिंडिरहेको दाबी गरे । उनले भने,‘अहिलेको व्यवस्था भनेको टाउकोले टेकेर हिंडेको ब्यबस्था हो, टाउकोले टेकेको अवस्थामा अर्कैले बोक्नुपर्ने हुन्छ, हो अहिले टाउकोले टेकेको ब्यबस्थालाई साम्राज्यवादले बोकेर हिंडिरहेको छ, त्यसैले यसलाई सच्याएर खुट्टाले टेकेर हिंड्ने बनाउनु प¥यो ।’
नेता बास्तोलाले संसदीय व्यबस्था रहेसम्म अहिले देखिएको राजनीतिक विकृति विसंगतिको अन्त्य नहुने बताए । विकृत राजनीतिक अवस्थाको अन्त्य जरुरी रहेको भन्दै उनले भने,‘संसदीय प्रणालीले देश चल्दैन, विकृति, विसंगतिको अन्त्य गर्दैन, त्यसैले अब सबै मिलेर यसको अन्त्यका लागि अभियान चलाउनु पर्छ ।’ यो प्रणाली रहेसम्म जतिपटक चुनाव गरेपनि समस्या समाधान नहुने उनले ठोकुवा गरे । ‘प्रचण्ड, केपी ओली वा शेरबहादुर देउवाको पार्टीले बहुमत, दुई तिहाई वा शत प्रतिशत मत ल्याएपनि अहिलेको प्रणालीको अन्त्य नभएसम्म देशले विकास र समृद्धि पाउँदैन’–उनले भने ।
नेता बास्तोलाले अहिलेको आवश्यक्ता भनेको जनमत संग्रह भएको बताए । जनमत संग्रहमार्फत आएको परिणामको सम्मान गर्ने बताउँदै उनले भने,‘वैज्ञानिक समाजवाद कि दलाल पुँजीवाद भन्नेबारेमा जनमत संग्रह गरौं, अहिलेको निकास भनेको वैज्ञानिक समाजवाद हो ।’ उनले अहिले नेपालमा पुँजीवाद नभएको बताउँदै पुँजीवादले पुँजीको निर्माण गर्ने भएपनि त्यस्तो नभएकाले नेपालमा पुँजीवादको चरित्र नभई दलाल पुँजीवाद रहेको बताए ।
नेता बास्तोलाले सरकारसँग ३ बुँदे सहमति भएपनि त्यसको कार्यान्वयन नभएको बताए । सरकार सहमति भएपनि सत्ताले त्यसलाई नमानेको भन्दै उनले थपे,‘किनभने दलाल पुँजीवादले जहिलेपनि अस्थिरता चाहन्छ, राजनीतिक सहमति भयो भने देशमा स्थिरता छाउँछ, समृद्धि आउँछ, विकास आउँछ, त्यसो भयो भने शान्ति आउँछ, एकता हुन्छ, त्यसकारण उनीहरु यो चाहँदैनन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







