नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४२ पनि आजबाट सुरु हुँदैछ।
नेवार समुदायले आज (शुक्रबार) विविध कार्यक्रम गरी नेपाल संवतलाई देशभर मनाइँदैछ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गराएका थिए। विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो। लिच्छविकालअघि शक संवत प्रचलनमा थियो। नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत बनेको हो।
नेपाल संवतलाई नयाँ वर्षका रुपमा नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ। गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मुल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरूआत गर्ने परंपरा समेत छ।
म्हः (आत्म) पूजा पनि आजै
आजैका दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज (शुक्रबार) नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परंपरा छ। आत्म पूजा शास्त्रीय भएपनि नेवार समुदायबाहेक अन्य समुदायमा यसको प्रचलन छैन। आत्मलाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ।
म्हः पूजा नेपालका नेवारहरुले मात्र मान्ने परम्परा हो। नेपालका धेरै संस्कृतिमध्ये अनुपम मानिने म्हः पूजा मौलिक पर्व हो।
म्ह पूजा निम्न अनुसार गरिन्छ
कसरी गरिन्छ म्हः पूजा ?
–माटोले लिप्ने
–चामलको पिठोले मण्डल बनाइन्छ, नेवारी भाषामा ‘मरंग’ भनिन्छ। यो २ रंगको हुन्छ, अबिर र सुन्तला रंगको।
–मण्डललाई फूल, लाभा, फलफूलले सजाइन्छ।
–मण्डललाई अगाडि राखेर बस्ने,
–बत्ति बाल्ने अक्षता राख्ने (आँखे), ओखर राख्ने
–मुटुमारी राख्ने

यो सबै सामानलाई माना, पाथी लगायतका सामानमा राखेर टाउकोबाट खन्याउने । पूजा गर्ने विधि, समान ठाउँ अनुसार फरक फरक हुन्छ।
यो पूजा गर्नलाई ब्रत बस्नु पर्दैन। तयारी सुरु गर्दासम्मको समयलाई नाप्ने हो भने यो १ घण्टामा सकिन्छ। संसारमा सबैभन्दा मूल्यवान भनेको स्वयं आफू हो। आफूले आफूलाई चिन्न सक्नुपर्छ। त्यसपछि मात्र संसारलाई चिनिन्छ। तबमात्र राम्रो काम गर्न सकिन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







