पोखरा सांगीतिक कलाकार संघले मौलिकपन जोगाउँदै खेल्यो देउसी भैलो


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७८ मा प्रकाशित




नेपालीहरुको दोश्रो ठूलो चाँड तिहारको अवसरमा पोखरा सांगीतिक कलाकार संघले देउसी भैलो खेलेको छ । तिहारमा खेलिने मौलिक संस्कृति जोगाउँदै पोखरा सांगीतिक कलाकार संघले देउसी भैलो खेलेका हुन् ।

बजारमा रेकर्डेड गीतमा नाचगान गर्दै देउसी भैलो खेल्ने चलन बढेको छ । तर पोखरा सांगीतिक कलाकार संघ भने रेकर्डेड गीत पेनड्राइभबाट बजाएर नभई मौलिक रुपमा आफै गाउँदै, नाच्दै देउसी भैलो खेलिरहेको छ । देउसी भैलोको नेतृत्व गरेका छन् संघका अध्यक्ष सुनिल थापाले । देउसी भैलो समूहमा आनन्दराज बज्राचार्य, शान्तराज बज्राचार्य, भाई गुरुङ, भाष्करध्वज श्रेष्ठलगायत संघका पदाधिकारी तथा सदस्यहरु छन् । जसलाई पोखराको चर्चित हिमाली सांस्कृतिक परिवारका सदस्यहरुले साथ दिएका छन् ।

तिहारमा खेलिने देउसी भैलोको मौलिकता हराउँदै गएकाले आफूहरुले देउसी भैलो खेलेको संघका अध्यक्ष सुनिल थापा बताउँछन् । भन्छन्,‘हिजोआज अर्काको रेकर्डेड गीत पेनड्राइभबाट बजायो, नाच्यो, सकियो, यसले गर्दा हाम्रो मौलिक संस्कृति लोप हुँदैछ, यसलाई बचाउन हामीले आफै गाउने, आफैले बाजा बजाउने र आफै नाच्दै देउसी भैलो खेलिरहेका छौं ।’ उनले पेनड्राइभबाट यसरी नै देउसी भैलो खेल्दै जाने हो भने संस्कृति लोप हुने चेतावनी दिदै उनले भने,‘संस्कृति जोगाउन हामी सबैको दायित्व हो, हामीले नजोगाए यो नासिन्छ, त्यहि भएर हामीले जसरीपनि देउसी भैलो खेल्नुपर्छ भनेर खेलेका हौं ।’ उनले आगामी वर्षहरुमापनि देउसी भैलो खेल्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।

देउसी भैलो खेलेर संकलन भएको रकम कलाकार संघको कोषमा राखिने उनले बताए । सो कोष कलाकारलाई कुनै समस्या पर्दा खर्च गरिने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।