आज कार्तिक शुक्ल द्वितिया तिथि, यमपञ्चक (तिहार)को अन्तिम दिन अर्थात भाइटिका ।
आजको दिन दिदिबहिनीहरुले आफ्ना दाजूुभाईहरुलाई मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर विशेष उल्लास र महत्वका साथ भाइटिका मनाउने गर्दछन्।
आज विहान ११ः०२ बजे भाइटिकाको उत्तम साइत छ। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समयलाई उत्तम मानिएको छ।
यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्नेलाई उत्तम दिशा मानिएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नुपर्ने शास्त्रीय नियम छ।
सप्तरंगी टिकाहरु, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनरसा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीबल, छोहडा, मिठाई, मरमसालालगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ।
शीरमा तोरीको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरंगी टिका लगाइदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाइदिन्छन्। सप्तरंगी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरुले आफ्नो गक्षअनुसारको फलफूल, नैवेद्य, मरमसला दाजुभाईलाई प्रदान गर्दछन।
त्यस्तै, दाजुभाइले पनि आफ्नो गक्षअनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन्। आजको दिन अधिकांश निधारहरु सप्तरंगी बन्दछन्। दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन छ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत आज पूजा आराधना गरिन्छ।
पोखरामा पनि विदेशी पर्यटकलाई भाइटिका
तिहारको अवसरमा पोखरामा पनि विदेशी पर्यटकलाई सामूहिक टिका लगाइदिन चलन छ। पश्चिमाञ्चल होटल संघले केही वर्षअघि देखि भाइटिका महोत्सवको आयोजना गर्दै आएको छ। यस वर्ष पनि संघले आज (शनिबार) भाइटिकाको दिन दिउँसो २ः०० बजे लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा विदेशी पर्यटकका लागि भाइटिकाको आयोजना गरेको छ। भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुमा पर्यटकहरु भाइटिका लगाउनकै लागि पोखरा आउन थालेका छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ…





