वास्तविक अपाङ्गता तथ्याङ्क संकलनका लागि महासंघको आग्रह


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७८ मा प्रकाशित




पोखरा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकीले राष्ट्रिय जनगणना २०७८ मा वास्तविक अपाङ्गता तथ्याङ्क संकलन गरिदिन आग्रह गरेको छ ।

महासंघ गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि बिहीबारबाट शुरु हुन लागेको जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्याङ्क संकलनमा सहभागी तथा सहयोगका लागी सबैलाई आग्रह गरेको हो ।

महासंघले भरपर्दो तथा अन्तराष्ट्रिय स्तरमा तुलनायोग्य तथ्याङ्कको अभावमा नेपाली अपाङ्गता भएका व्यक्तिहरु अझैपनि विकासको मूलधारमा आउन नसकेको, संविधान, ऐन, कानून, तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धी २००६ मा उल्लेख भएका राजनैतिक, सामाजिक, तथा आर्थिक अधिकार उपभोग गर्नबाट वञ्चित भएको बताएको छ ।

महासंघले राष्ट्रिय जनगणना मार्फत गण्डकी प्रदेशमा बसोबास गर्ने सबै अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्याङ्क ल्याउने उद्देश्य राखेर यसअघि ‘गण्डकी प्रदेशमा अपाङ्गतामा समावेशी जनगणना – २०२१ अभियान’ जारी राखेको संस्थाका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।

सही तथ्याङ्क नहुँदा नीति निर्माण तहमा पहुँचमा कमी, प्रभावकारी योजना, बजेट र कार्यक्रमहरु कार्यान्वयन हुन नसक्नु, राज्यबाट प्राप्त हुने सेवा सुविधामा पहुँच वृद्धि हुन नसकेको लगायतका समस्या रहेको भन्दै समाधानका लागि अपाङ्गता भएका व्यक्तिहरुको गणना शुनिस्चतताको लागि सबैलाई अध्यक्ष शर्माले आग्रह गरे ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालय र केन्द्रीय तथ्यांक विभागले “मेरो जनगणना मेरो सहभागिता” भन्ने मूल नारासहित हुन लागेको राष्ट्रिय जनगणना २०७८ लाई अपाङ्गता समावेशी बनाउन गरेका प्रयासहरु सह्रानिय भएको उनले बताए ।

उनले नेपालमा २०६८ सालको जनगणना अनुसार अपाङ्गता भएका व्यक्तिहरुको कुल जनसंख्या ५ लाख १३ हजार ३२१ मध्य गण्डकी प्रदेशमा त्यसको २.०३ प्रतिशत सरकारी तथ्याङ्क रहेको भएपनि सो तथ्याङ्क विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाले गरेको अध्ययनसंघ मेल नखाएको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको झण्डै १० देखी १५ प्रतिशत जनसंख्या कुनै न कुनै हिसावले अपाङ्गता हुने गरेको उल्लेख छ । जसमा ८० प्रतिशत विकाशोन्मुख देशका छन् ।

‘मेरो जनगणना : मेरो सहभागिता’ भन्ने मूल नाराका साथ १२ औं राष्ट्रिय जनगणना बिहीबारदेखि शुरु हुँदै छ । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने छन् ।

उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने छ । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।