राष्ट्रिय जनगणना–२०७८ को पहिलो दिनमै १५ लाख व्यक्तिको गणना गरिएको छ।
बिहीबारबाट सुरु गरिएको राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत पहिलो दिनमै १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्यांक विभागले दिएको हो।
जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण संकलन गरेर जनगणना शुभारम्भ गरिएको थियो।
पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ। केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु गरिए पनि देशैभर जनगणना प्रारम्भ गरिएको छ।
तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति कार्यालयमा पुगेर जनगणनाको विवरण संकलन गरेका थिए। राष्ट्रिय जनगणनाजस्तो महान अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने सांकेतिक रूपमा सन्देश दिन तथ्यांक लिइएको हो। जनगणना लिएको सबै तथ्यांक गोप्य हुनेछन्।
प्रदेशस्तरमा खटिएका गणक र सुपरिवेक्षकले पनि सम्बन्धित प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पालिकाका प्रमुखको विवरण संकलन गरेर जनगणना सुरु गरिएको विभागले जनाएको छ। जनगणनालाई राष्ट्रिय अभियानका रूपमा शुभारम्भ भएको सकारात्मक सन्देश प्रवाह गर्न विभागले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका प्रदेश र स्थानीय तहका प्रमुखहरूको विवरण संकलन गरिएको जानकारी विभागले जनाएको छ।
यसैगरी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीले राष्ट्रिय जनगणना–२०७८ को भिडियो सन्देश जारी गर्दै देश विकासका लागि अत्यावश्यक पर्ने जनगणनामा सबैले गणकले सोधेका प्रश्नको उत्तर दिएर सहयोग गर्न आग्रह गरेका छन्।
जनगणनाका लागि देशैभर ७५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४२ वटै वडामा गरी ३९ हजार जना गणक र ८ हजार ५ सय जना सुपरिवेक्षक कार्य क्षेत्रमा खटिएका छन्। पाँच जना गणकलाई एक जना सुपरिवेक्षकले यस अगाडि गरिएको घर तथा घरपरिवारको सूचीकरणको फारम र नक्सा प्रदान गरेर अनुगमन, समन्वय र सहजीकरण गरिरहेका छन्।
त्यस्तै, गणकलाई सुपरिवेक्षक, सुपरिवेक्षकलाई स्थानीय जनगणना अधिकारी र स्थानीय जनगणना अधिकारीलाई जिल्ला तथा प्रदेश जनगणना अधिकारी र जिल्ला र प्रदेश जनगणना अधिकारीलाई तथ्यांक विभागले आवश्यक सहयोग र समन्वय गरिरहेको जनाइएको छ। जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ।
सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय संचालनमा ल्याइएको छ। गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो। त्यसकै आधारमा हाल जनगणना गरिएको छ। यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ। राष्ट्रिय जनगणना–२०७८ नेपालमा १२ औँ जनगणना हो। पहिलो पटक १९६८ सालमा चन्द्रशमशेरको पालामा पहिलो जनगणना भएको थियो।
२०७८ सालमा जारी जनगणनामा ३ करोडभन्दा बढी जनसंख्या पुग्ने अनुमान गरिएको छ। कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरी १५ दिनसम्म गरिएको जनगणनाको प्रारम्भिक विवरण आउन कम्तीमा ३ महिना र पूरै विवरण आउन ६ देखि ९ महिना लाग्ने जनाइएको छ। नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ।
राजनीतिक दलका नेताहरूले अलग अलग वक्तव्य जारी गरेर जनगणनालाई सफल बनाउन देशवासीसँग आग्रह गरेका छन्। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार नै छुुट्टाछुुट्टै वक्तव्य जारी गरेर सही विवरण उपलब्ध गराउन सबै देशवासीसँग आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







