सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित





काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज सम्बोधन गर्दै उनले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिए ।

अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिए ।

पत्रकारले समाजमा भएका राम्रो कामको उत्खनन गर्ने र गलत कामको भण्डाफोर गर्नुपर्ने बताउँदै उनले राष्ट्रिय एकताको पक्षमा कलम चलाउँदै अनुचित काम गर्नेलाई पनि नछाड्न उल्लेख गरे । “समाजवादी आदर्शबाट अगाडि बढ्नुस्, गलत कामलाई गलत भन्नुस्, पत्रकारिताको राम्रो आचरण विकास गर्नुहोस्”, उनले भने ।

अध्यक्ष नेपालले देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसङ्गति मौलाइरहेको उल्लेख गर्दै पत्रकारले पनि त्यसखालका विकृति विसङ्गतिविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिए । पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको पनि बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पु¥याउन सङ्गठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिए । -रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।