धनगढी उपमहानगरपालिकाले उप मेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार भएको फाइनलमा धनगढीले ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। टाइब्रेकरमा ललितपुरको दोस्रो प्रहार मात्र गोलमा परिणत भएको थियो। ललितपुरकी निर्मला बिकले मात्र गोल गरिन्। सम्झना लावतीको प्रहार बाहिरिएको थियो भने आशा कुँवर र रजनी थोकरको प्रहार धनगढीकी गोलकीपर उषानाथले बचाएकी थिइन्।
सुरुका २ वटा प्रहारमा गोल गरेको धनगढी तेस्रो प्रहारमा चुकेपनि चौथो प्रहारमा गोल गर्दै उपाधि पक्का गरेको थियो। धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरिन्। सरस्वती रोकायको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले बचाएकी थिइन्।
जितसँगै धनगढीले ५ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता ललितपुरले ३ लाख रुपैयाँ जित्यो। ३१ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताबाट विजेता धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन्।
प्रतियोगितामा ‘फेयर प्ले’ अवार्ड जित्न सफल कैलालीको जानकी गाउँपालिकाले ५० हजार रुपैयाँ पुरस्कार जित्यो। प्रतियोगितामा कन्काई नगरपालिकाकी दीपा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। दीपाले ५० हजार रुपैयाँ पुरस्कार जितिन् ।
धनगढीकी उषानाथले उत्कृष्ट गोलकीपरको उपाधि जितिन्। धनगढीकै सरस्वती रोकाय उत्कृष्ट मिडफिल्डर, चन्द्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भइन्। धनगढीकै रघुबन्दर कार्की उत्कृष्ट प्रशिक्षक घोषित बने। ललितपुरकी सिर्जना सिंह उत्कृष्ट रक्षक बनिन्। विधागत रूपमा उत्कृष्टले समान २०/२० हजार रुपैयाँ पुरस्कार जिते।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







