अष्ट्रेलिया पहिलो पटक टी २० विश्वकप क्रिकेट च्याम्पियन


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७८ मा प्रकाशित




अष्ट्रेलिया पहिलो पटक टी २० विश्वकप क्रिकेट च्याम्पियन बनेको छ।

अष्ट्रेलियाले दोस्रो पटक विश्वकप टी २० को फाइनल खेल्दा च्याम्पियन बन्न सफल भएको हो।

दुबई इन्टरनेसनल स्टेडियममा खेलिएको भएको रोमान्चक खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै टी २० मा विश्व क्रिकेटको पहिलो पटक च्याम्पियन बनेको हो।

अष्ट्रेलियाले जितेको यो पहिलो टी २० विश्वकप हो। न्युजिल्यान्डले चाहिँ फेरि एक पटक विश्वकपको फाइनलमा पुगेर मात्र चित्त बुझाउनु परेको छ। उसले यो पटक पनि अष्ट्रेलियासँग हारेसँगै उपविजेतामै चित्त बुझाएको छ।

न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। अष्ट्रेलियाले २ विकेट गुमाएर १९ औं ओभरमा यो लक्ष्य भेट्टाएको थियो।

विश्वविजेता अष्ट्रेलियाको सुरुवाती खेलमा खासै राम्रो थिएन। एरोन फिन्च ५ रन मात्र बनाएर पेभेलियन फर्किएका थिए। तर, त्यसपछि आएका मिसेल मार्स र ओपनर डेभिड वार्नर मिलेर दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे।
वार्नर ३८ बलमा ५३ रन बनाएर आउट भए। त्यतिबेला, अष्ट्रेलियाको १०७ रनको स्कोर थियो। त्यसपछि, मिसेलले उत्कृष्ट खेल्दै नट आउट ७७ रन बनाए।

न्युजिल्यान्डले पनि खेलको पहिलो इनिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो। न्युजिल्यान्डका कप्तान केन विलियमसनले ४७ बलमा ८५ रन बनाए। त्यसपछि मार्टिन गुप्टिलले ३५ बलमा २८ रन, डेरिल मिसेलले ८ बलमा ११ रन र ग्लेन फिलिप्सले १७ बलमा १८ रन बनाए।

यस इनिङमा अष्ट्रेलियाका लागि सबैभन्दा धेरै विकेट जस हेजलवुडले लिए। उनले खेलमा ३ विकेट लिए र मिसेल, विलियमसन र फिलिप्सलाई पेभेलियन फर्काए।

टी २० को यो फाइनलमा अष्ट्रेलियाले टस जितेर न्युजिल्यान्डलाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो।

दुवै टोलीले आइसीसी वरीयताको शीर्ष स्थानमा रहेको २ शीर्ष टिमलाई हराएर फाइनलको यात्रा तय गरेकाले पनि अष्ट्रेलिया र न्युजिल्यान्डको फाइनल खेल रोमाञ्चक बनेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।