पोखरा । सिलिङ्गे महिला चेतना समूहको सकृयतामा पुनर्निमित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको हुडिकोटस्थित दुई सय वर्ष पुरानो चौतारो आज उद्घाटन गरिएको छ ।
समूहको पन्ध्रौं वार्षिक साधारणसभाका अवसरमा आयोजित विशेष समारोहकाबीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले चौताराको उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री कंडेलले प्राचीन सम्पदाको संरक्षण हामीहरूको दायित्व भएको बताउँदै समूहको सकृयतामा दुई शताव्दी पुरानो चौतारो जनस्तरको सहयोगबाट पुननिर्माण गरिनु प्रशंसनीय कार्य भएको बताए ।
नेपालका वाइसे चौवीसे राजाहरूको समयदेखि अस्तित्वमा आएको हुडिकोट सहित यस आसपासका कोटभैरव, देउराली लगायतका स्थानको पर्यटकीय सम्भावना उजागर गर्नका लागि मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
समूहका अध्यक्ष कर्णकुमारी महतले हुडिकोटको चौताराको ऐतिहासिक महत्व समेतलाई दृष्टिगत गरी एक लाख ५५ हजार ५५५ रुपैयाँ लागतमा जनस्तरको सहयोगबाट निर्माण गरिएको बताए । समूहकै सकृयतामा मनियलडाँडाको चौताराका साथै ठाडाबारीमा प्रतिक्षालय निर्माण गरिएको र यहाँका पाण्डेबारी, सिलिङ्गेको चौतारा पनि पुननिर्माण गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य शोभा नेपालीले ऐतिहासिक चौतारा निर्माणसँगै विभिन्न सामाजिक काममा समूहले सकृयताका साथ काम गरिरहेको बताउँदै वडा भित्रका प्रत्येक सामाजिक काममा साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको हुडिकोट, मल्लकालिन कोटभैरव मन्दिर, देउराली मन्दिर आदिको प्रवद्र्धन गर्नु आवश्यक भएको बताए ।
समूहका अध्यक्ष कर्णकुमारी महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सरला महतले गरेकी थिइन् । भने कार्यक्रमको सञ्चालन सचिव सीता केसी महतले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







