चालक अनुमतिपत्रका लागि तीन सातामा चार लाखको आवेदन


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ ।

यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।

कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिकरुपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताए ।

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।

गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ ।

विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् । – रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।