पर्वतको फलेवास नगरपालिकाका छ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो ।
नगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम क्लिन फलेवास ग्रीन फलेवास अभियानअन्तर्गत ‘एक घर, एक बगैँचा’ कार्यक्रम र क्लीन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिनुभएको छ । नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मूला, सलगम, पालुङ्गो, गाँजर र धनियाँलगायत तरकारीका बीउ निःशुल्क वितरण गरिएको घिमिरेले बताउनुभयो ।
नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बीउ लगाएर निर्वाहमुखी खेती गर्दै आएका कृषक व्यावसायिक र व्यावसायिक रुपमा लागेकाको अझै उत्पादन वृद्धि होस भन्ने अपेक्षा नगरको छ । नगरपालिकाले यस वर्ष क्लीन हाउस ग्रीन हाउस कार्यक्रमका लागि रु चार लाख विनियोजन गरेको थियो । बजेटबाट बीउ वितरण गरिएको संयोजक घिमिरेले जानकारी दिनुभयो ।
“नगरपालिकाका भरिका करिब छ हजार घरधुरीमा प्रति घरधुरीका लागि रु ७० बराबरको ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको छ”, उहाँले भन्नुयो, “कृषकले मौसमअनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् ।” यस्तो अभियान अघिल्ला वर्षमा पनि गरिएको र आव २०७६/७७ मा फलेवासका नगरका ११ वटै वडामा करिब ४०० प्लाष्टिक टनेल वितरण गरिएको उहाँको भनाइ छ । फलेवासले नगरभित्रका व्यावसायिक किसानका उत्पादन वृद्धि गर्नका लागि छिट्टै अर्को कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले निःशुल्क तरकारीको बीउ वितरण गरेपछि नगरवासी हर्षित बनेका छन् ।
बीउको सही सदुपयोग गरी तरकारी उत्पादनमा जोड दिने वडा नं ६ देविस्थानका अगुवा कृषक देवीप्रसाद भुसाल बर्मेलीले बताउनुभयो । तरकारीको बीउ सितोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ र पोखरा मालेपाटनबाट ल्याइएको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताउनुभयो । सरकारी फर्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बीउ लिएर किसानलाई वितरण गरिएको उहाँको भनाइ छ ।
कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले फलेवासले यस अघि निःशुल्क रुपमा फलफूलका विरुवा विवरण गरेको थियो भने बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको थियो । नगरपालिका अहिले तरकारी र मौसमअनुसार फलफूलमा आत्मनिर्भर बनेको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो । उहाँले अब नगरबाट निर्यात गर्नेगरी खेती विस्तार गर्नतर्फ किसानलाई प्रोत्साहित गरिने उहाँको भनाइ छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







