नेपालले टी–२० शृंखलामा कतारलाई दोस्रो पटक हरायो


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित




नेपाली महिला टोलीले कतारसँगको ३ खेलको टी–२० शृंखला जितेको छ।

बुधवार भएको दोस्रो खेल ६१ रनले जितेसँगै नेपालले एक खेलअघि नै शृंखला जितेको हो।

कतारको वेस्ट इन्ड पार्कमा नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ३ बलको ६८ रनमा अलआउट भयो। बलिङतर्फ नेपालकी सरस्वती कुमारीले ४, रुबिना क्षेत्रीले २ तथा सबनम राई, संगीता राई र कविता जोशीले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५० रन बनाइन्। उनको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो। यस्तै अप्सरी बेगमले नटआउट २३ रन बनाइन्।

नेपालले मंगलवारको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो। कतारसँग भोलि बिहीवार तेस्रो खेल खेलेपछि नेपाली टोली टी–२० विश्व कप छनोट खेल्न सिधै यूएई जानेछ।

छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन्। समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।