कास्कीमा माओवादी केन्द्रका साढे १० हजार सदस्य


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित




कास्कीमा नेकपा माओवादी केन्द्रका करीब साढे १० हजार सदस्य पुगेका छन् । कास्कीका पाँच वटा पालिकामा नेकपा माओवादी केन्द्रका १० हजार ३ सय ८३ जनाले पार्टी सदस्यता लिएको नेकपा माओवादी केन्द्र कास्कीले जनाएको छ । यो यसअघीको क्रियाशिल सदस्यता लिनेको संख्या भन्दा २ हजारले बढी हो । एमालेसँग एकता भएर नेकपा बन्नुअघि कास्कीमा माओवादी केन्द्रका ८ हजार सदस्य थिए । तर अहिले २ हजार बढेर १० हजार ३ सय ८३ पुगेको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र कास्कीका अनुसार देशकै ठूलो पोखरा महानगरपालिकामा माओवादी केन्द्रका ६ हजार ३ सय सदस्य पुगेको छ । यो यसअघिको भन्दा झण्डै १ हजार ७ सयले बढी हो । यसअघी पोखरा महानगरपालिकामा माओवादीका ४ हजार सदस्य थिए । अहिले करीब १ हजार ७ सयले बढेर ६ हजार ३ सय क्रियाशिल सदस्य पुगेको नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी ईञ्चार्ज दीपक कोइराला (रुपक)ले जानकारी दिए ।

त्यस्तै, मादी गाउँपालिकामा १ हजार २, रुपा गाउँपालिकामा २२०, माछापुच्छ«े गाउँपालिकामा ६ सय ७१ र अन्नपूर्ण गाउँपालिकामा ७ सय ५० सदस्य पुगेका छन् । यसैगरी मजदुर फाँटमा १ हजार र सबै पालिकाका आयोजक समिति सदस्य गरेर २ सय जना सदस्य रहेको माओवादी केन्द्र कास्की ईञ्चार्ज करणले बताए ।

माओवादी केन्द्रले बुधबार सम्म पार्टी सदस्यता नवीकरण तथा नया सदस्यता वितरण अभियान सञ्चालन गरेको थियो । अब नया सदस्यता वा नवीकरणको काम सकिएको ईञ्चार्ज करणले बताए ।

यसैबीच, नेकपा माओवादी केन्द्रको वडा अधिवेशन यहि मंसीर ४ गते शुक्रबार हुँदैछ । सो दिन कास्कीका ५ वटा पालिकाका ७२ वटै वडामा अधिवेशन हुने जनाइएको छ । वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा माओवादी केन्द्र कास्की ईञ्चार्ज करणले जानकारी दिए ।

अधिवेशनले नया नेतृत्व चयन गर्ने जनाइएको छ । ‘सकभर सर्वसम्मत नभए निर्वाचनमार्फत नया नेतृत्व चयन हुन्छ, सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने हाम्रो प्रयास छ’–उनले भने । उनका अनुसार पालिकाहरु मध्ये महानगरमा ७ पदाधिकारीसहित ४५ सदस्यीय र गाउँपालिकामा ५ पदाधिकारीसहित २९ सदस्यीय कार्य समिति चयन हुनेछ । महानगरमा अध्यक्ष १, समावेशीसहित उपाध्यक्ष ३, कोषाध्यक्ष, सचिव र सहसचिव तथा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव रहने व्यवस्था रहेको ईञ्चार्ज करणले जानकारी दिए । नेतृत्व चयन गर्दा २० देखि ४० वर्ष उमेर समूहका युवा २० प्रतिशत, महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम ५ प्रतिशत अनिवार्य राख्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

माओवादी केन्द्रको पालिका अधिवेशन भने यहि मंसीर ११ गते हुने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।