नेपाललाई निरन्तर सघाउने अमेरिकी प्रतिबद्धता


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । अमेरिकाले कोभिड–१९, जलवायु परिवर्तन र आपसी हितका अन्य विषयमा नेपाललाई निरन्तर सघाउने तथा साझेदारी गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ बालुवाटारमा शिष्टाचार भेट गर्दै दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले नेपालप्रतिको अमेरिकी सहयोग र समर्थनको प्रतिबद्धता दोहो¥याएका हुन् ।

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग सम्बन्ध स्थापना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौँ अएका सहायक विदेशमन्त्री लु र आजै आएकी उपसहायक विदेशमन्त्री किडरलिङबीच नेपाल–अमेरिका सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री र अमेरिकी कूटनीतिक टोलीबीच सात दशकभन्दा पुरानो नेपाल–अमेरिका सम्बन्धलाई थप प्रगाढ तुल्याउने, कोभिड–१९ महामारीको सन्दर्भमा सहयोगका दायरा अझ विस्तार गर्ने, महामारीपछिको पुनरुत्थान एवं पुनःप्राप्तिलगायत साझा हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

वार्तामा नेपालको विकास प्राथमिकताका विभिन्न क्षेत्रका साथै ऊर्जा र भौतिक पूर्वाधारका निम्ति अमेरिकाले अनुदानस्वरुप उपलब्ध गराउने ५५ अर्बभन्दा बढीको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी)लगायत संयुक्त राज्य अमेरिकाको सहयोगका बारेमा पनि छलफल भएको थियो । यथाशक्य चाँडो एमसिसीलाई संसद्बाट अनुमोदन गर्न अमेरिकी प्रतिनिधिमण्डलले अनुरोध गरेको थियो । दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धको समग्र अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् ।

प्रवक्ता लम्सालका अनुसार नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा प्रधानमन्त्री देउवाले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै नेपाललाई कोभिड–१९ विरुद्धको खोप उदारतापूर्वक उपलब्ध गराएकामा त्यसको मुक्तकण्ठले प्रशंसा गरेका थिए । – रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।