कोन सहकारी बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट करदाता


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित



पोखराको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रदेशकै उत्कृष्ट करदाता बनेको छ । आन्तरिक राजश्व कार्यालय पोखराले कोन सहकारीलाई उत्कृष्ट करदाता घोषणा गर्दै मंगलबार सम्मान गरेको हो । कर सप्ताहको अन्तिम दिन मंगलबार आयोजित कर सप्ताह–२०७८ को समापन कार्यक्रमको अवसरमा उक्त सहकारीलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो ।

प्रदेशकै उत्कृष्ट करदाताका रुपमा सम्मानित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६७ लाख २९ हजार रुपैयाँ कर तिरेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख रमेश शर्माले जानकारी दिए । उनका अनुसार उक्त सहकारीले वार्षिक ४ अर्ब भन्दा बढीको कारोबार गरेको छ ।

त्यस्तै, आन्तरिक राजश्व कार्यालय पोखराले उत्कृष्ट कर्मचारी सम्मानतर्फ सो कार्यालयमा कम्प्युटर अप्रेटरका रुपमा कार्यरत दीपक पौडेललाई सम्मान गरेको छ । उनलाईपनि दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कर कार्यालय पोखराका प्रमुख रमेश शर्माले आन्तरिक राजश्व कार्यालय पोखराले प्रथम चौमासिकमा लक्ष्य भन्दा बढी कर संकलन गर्न सफल भएको बताए । उनका अनुसार आन्तरिक राजश्व कार्यालय पोखरा प्रथम चौमासिकमा १३४ प्रतिशत कर संकलन गर्न सफल भएको छ । उनले भने,‘हामीले प्रथम चौमासिकमा १ अर्ब १५ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेका थियौं, तर यो अवधीमा हामीले १ अर्ब ५५ करोड राजश्व संकलन गर्न सफल भयौं ।’ अघिल्लो वर्ष वार्षिक ५ अर्ब १० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेपनि ९८ प्रतिशत मात्रै राजश्व संकलन गर्न सफल भएपनि यस वर्ष लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल हुने लक्षण देखिएको उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।