आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७८ मा प्रकाशित



तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा परीक्षण शिविरमा शल्यक्रियापछि हर्षित वृद्ध । नेपाल नेत्रज्योति सङघ, भरतपुर आँखा अस्पतालको आयोजना र आँबुखैरेनी गाउँपालिकाको सहकार्यमा बुधबारसम्म सञ्चालित शिविरमा ६२ जनाको आँखा शल्यक्रिया गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । शिविरमा दुई सयजनाको आँखा परीक्षण गरिएको थियो ।

आँखामा मोतियाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । भरतपुर आँखा अस्पतालका डा रञ्जीतकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो ।

आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् । गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिए । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडाैँ जानुपर्ने बाध्यता थियो,” उनले भने “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।

१८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप

१८ वर्षभन्दा बढी उमेर पुगेका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । तनहुँका विभिन्न स्थानीय तहले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । केही स्थानीय तहले पनि खोप अभियान सम्पन्न गरिसकेका छन् । बन्दीपुर गाउँपालिकाले १८ वर्ष उमेर पूरा भएका सबै नागरिकका लागि मङ्सिर ८ गते कोभिडसिल्ड र एस्टे«जेनेका खोप लगाउने स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराईले जानकारी दिए ।

गाउँपालिका–१ स्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडा नं ४ स्थित बन्दीपुर अस्पतालबाट खोप अभियान सञ्चालन गर्नेछ । गाउँपालिकाले यसअगाडि लक्षित समूहका नागरिक, ज्येष्ठ नागरिक, विद्यार्थी लगायतलाई खोप लगाइसकेको छ । देवघाट गाउँपालिकाले मङ्सिर ८ र ९ गते १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने भएको छ । गाउँपालिकाले वडा नं ५ स्थित देवघाट धर्मार्थ अस्पतालमा खोप अभियान सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए। कोरोना रोकथाम तथा नियन्त्रण गर्दै सङ्क्रमणको जोखिमबाट नागरिकलाई जोगाउन चरणबद्ध तरिकाले प्राथमिकता र भ्याक्सिन उपलब्धताका आधारमा खोप अभियान सञ्चालन गरिँदै आएको सुवेदीले बताए ।

व्यास नगरपालिका, भिमाद नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइसकेको छ । व्यास नगरपालिकाले छुट भएका १८ वर्षमाथिका नागरिकलाई पुनः खोप लगाउने भएको छ । मङ्सिर ८ र ९ गते विभिन्न स्वास्थ्य संस्थामार्फत यसअघि छुट भएका सबैलाई खोप लगाइने स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले जानकारी दिए । नगरपालिकामा १२ वटा स्वास्थ्य संस्थामार्फत खोप लगाइनेछ ।

व्यास–१ को चारकुने स्वास्थ्य केन्द्र, व्यास– २ को केराबारी स्वास्थ्य केन्द्र, व्यास–३ को नगरपालिकाको सभाहल, व्यास–४ को वडा कार्यालय, व्यास–५ को पतेनी आधारभूत स्वास्थ्य केन्द्र, व्यास–६ को स्याम्घा स्वास्थ्यचौकी, व्यास–७ को पाथ्रा स्वास्थ्य केन्द्र, व्यास–८ को रिस्ती स्वास्थ्यचौकी, व्यास–९ को गजुरे स्वास्थ्यचौकी, व्यास–१० को कोभिड व्यवस्थापन अस्पताल, व्यास–११ को तनहुँसुर स्वास्थ्यचौकी र व्यास–१२ को घाँसीकुवा स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन गरिने भएको छ ।

तनहुँका हालसम्म ६५ हजार आठ सय ३८ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् भने ८६ हजार दुई सय १६ ले पहिलो मात्रा लगाएका छन्।

स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीका अनुसार भानुका नौ हजार चार सय ३६, व्यासका १६ हजार सात सय ४६, शुक्लागण्डकीका १० हजार ६१, भिमादका छ हजार पाँच सय २५, म्याग्देका चार हजार छ सय ४५, घिरिङका दुई हजार सात सय ८८, ऋषिङका तीन हजार सात सय २९, देवघाटका तीन हजार पाँच सय ८९, बन्दीपुरका चार हजार ४७ र आँबुखैरेनीका चार हजार दुई सय ७२ ले खोपको दुवै मात्रा लगाएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।