१८ वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७८ मा प्रकाशित



स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिएका छन्।

३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको मन्त्री खतिवडाको भनाई छ।

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ। जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १७५ छन्। ९ देखि माथि उमेर समूहका ३६ लाख ४२ हजार २७४ रहेको मानव स्रोत विकास केन्द्रले जानकारी दिएको छ।

शिक्षामन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय संचालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन्। शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिएका छन्।
१२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लुएचओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।