नया नेतृत्व चयन गर्न माओवादीले भोलि कास्कीका पाँचवटै पालिकामा अधिवेशन गर्दै

- पोखरा महानगरको अधिवेशनलाई भव्य बनाइने


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७८ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मंसिर ११ गते शनिबार भोलि कास्कीका पाँच वटै स्थानीय तहमा पालिका सम्मेलन गर्ने भएको छ ।
आसन्न राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले पालिका अधिवेशन मार्फत पालिका कमिटी चयन गर्न लागेको हो ।
पोखरा महानगरपालिका तथा मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा एकै दिन गरिने सम्मेलनको सबै तयारी पूरा भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीका संयोजक बखानसिँह गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलन पालिकामा पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन ऐतिहासिक हुनेछ ।
पोखरा महानगरको सम्मेलन भव्य हुने
माओवादी केन्दले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशन शनिबार भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी गरिएको जनाएको छ ।
महानगर कमिटीले आज पत्रकार सम्मेलन आयोजना गरी अधिवेशनको तयारी पूरा भएको जनाउुँदै अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल रुपमा अधिवेशन उद्घाटन गर्ने बताउनुभयो ।
यसैगरी पार्टीका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अधिवेशनस्थल पोखरा सभागृहमा आएर कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्छ । अधिवेशनले आगामी तीन वर्षका लागि ९९ सदस्सीय महानगर कमिटी निर्वाचित गर्नेछ ।
अधिवेशन सम्पन्न गर्नका लागि डा कृष्णराज अधिकारीको संयोजकत्वमा पाँच सदस्सीय निर्वाचन समिति गठन गरिएको सो पार्टीले जनाएको छ ।
अध्यक्ष लामिछानेका अनुसार अधिवेशनको भव्यताका साथ सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ । अधिवेशनका अवसरमा जनयुद्धका शहीद, घाइते तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्ने कार्यक्रम रहेको महानगर कमिटीका कार्यालय सदस्य जनक पराजुलीले जानकारी दिनुभयो ।
अधिवेशनमा महानगरका ३३ वटै वडाबाट निर्वाचित ५०१ प्रतिनिधि सहभागि हुने बताइन्छ । माओवादीको महानगरमा आठ हजार संगठित पार्टी सदस्य छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।