पाँच दलीय गठबन्धनका निम्ति माओवादी केन्द्रले राष्ट्रियतामा सम्झौता गर्दैन : श्रेष्ठ


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७८ मा प्रकाशित




पोखरा । नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पाँच दलीय गठबन्धनका लागि राष्ट्रियताको मुद्धामा सम्झौता नगर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको दोश्रो अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धनमा भएका दलहरु यथास्थितिमै एमसिसी पास हुनुपर्छ भनेर लागेको खण्डमा गठबन्धनका लागि भनेर माओवादी केन्द्रले राष्ट्रियताको मुद्धामा सम्झौता नगर्ने बताएका हुन् । एमसिसीलाई देखाएर गठबन्धन भत्काउने प्रयास भइरहेको छ,‘उनले भने,‘मुख्य कुरा गठबन्धन हो, तर त्यसो भन्दैमा गठबन्धन भत्काएर भएपनि कांग्रेस एमसिसीको पक्षमा उभिने अवस्था आयो भने माओवादीले गठबन्धनका निम्ति भनेर राष्ट्रियतामा सम्झौता गर्दैन, एमसिसीको पक्षमा लाग्दैन ।’

नेता श्रेष्ठले एमसिसीलाई देखाएर पाँच दलीय गठबन्धन भत्काउने प्रयास भइरहेको बताए । तर यो गठबन्धन चुनाव सम्पन्न गर्ने विन्दुसम्म कायम रहने उनले बताए । उनले माओवादी केन्द्रले एमसिसी यथास्थितिमा पास नगर्ने र गर्नपनि नदिने बताए । ‘एमसिसीलाई प्रयोग गरेर गठबन्धन भत्काउने प्रयास भइरहेको देखिन्छ । हाम्रो पार्टीले यथास्थितिमा एमसिसी अनुमोदन गर्दैन । नेपालीले यसलाई यथास्थितिमा अनुमोदन गर्नै हुँदैन भन्ने माओवादी केन्द्रको धारणा हो’–उनले भने ।

तर यसको अर्थ विदेशी सहयोग लिनै हुँदैन भन्ने पक्षमा माओवादी केन्द्र नरहेको उनले प्रष्ट्याए । ‘नेपालको सार्वभौमिकता र स्वाधिनताको बिरुद्ध रहेका प्रावधानहरुलाई सच्याउने हो भने हामीलाई सहयोग चाहिन्छ । हामी सहयोग लिन्छौं’–उनले भने । उनले अमेरिकाले नेपाललाई स्वच्छ मनले सहयोग दिन चाहेको भए विवादित बुँदा सच्याउन तयार हुनुपर्ने भएपनि त्यसलाई सच्याउन नमानेको बताए । उनले अमेरिका मात्रै नभई नेपालका केहि व्यक्तिहरुपनि ती बुँदाहरु नसच्याई यथास्थितिमै एमसिसी पारित गर्नुपर्छ भन्दै हिंडेको उनले आरोप लगाए ।

नेता श्रेष्ठले माओवादी केन्द्र अहिले रुपान्तरणतर्फ अगाडि बढेको बताए । पार्टीमा दुई प्रवृत्ति रहेको बताउँदै उनले भने,‘एउटा पक्ष अहिलेपनि विधि, पद्धति मान्ने, क्रान्तिको दिशा पक्रेर रुपान्तरण हुने पक्षमा छ भने अर्को प्रवृत्ति व्यक्तिवादी हुने, पद, लाभ र पैसा झ्वाम पार्ने रहेको छ । पहिलो पक्ष पार्टी प्रवृत्ति र दोश्रो पक्ष गैरपार्टी प्रवृत्ति भन्दै उनले गैरपार्टी प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताए । ‘पहिलो शर्त रुपान्तरण नै हो, होइन भने त्यसलाई परास्त गर्नुपर्छ, गैरपार्टी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ’–उनले भने । उनले संघर्षबाट डराएर पार्टी रुपान्तरण हुन्छ भन्ने सोंच्नु धोका भएको बताए । ‘अध्यक्ष प्रचण्ड, म वा अरु कोहिले पार्टीलाई, क्रान्तिकारी, सहीद परिवार र जनतालाई धोका दिने अधिकार कसैलाईपनि छैन’–उनले भने । उनले पार्टी रुपान्तरण नभएमा पार्टीको औचित्य माथि नै प्रश्न उठ्ने बताउँदै थपे,‘पार्टी सुदृढिकरण भएन भने जनताप्रति धोका हुन्छ । त्यसपछि पार्टीमा सांस्कृतिक बिचलन देखापर्छ र कम्युनिष्ट नाम लिनै नपर्नेगरी पुँजीवादी पार्टीमा रुपान्तरण हुन्छ ।’

नेता श्रेष्ठले प्रचण्ड र नारायणकाजी बिचमा खटपट भएको हल्ला मिथ्या भएको दाबी गरे । ‘हामीबीच खटपट भएको हल्ला चलाएर पार्टी नेतृत्वलाई विभाजित गर्ने र पार्टी रुपान्तरणलाई रोक्ने प्रयास हो, तर हामी बीचमा कुनै खटपट वा मनमुटाब छैन, अहिले एकढिक्का भएर पार्टी रुपान्तरण हुने क्रममा छौं हामी’–उनले भने । श्रेष्ठले बाह्य वा भित्रका विभिन्न तत्वहरुले पार्टीलाई रुपान्तरण भएर क्रान्तिकारी बन्न नदिने, पुर्नगठन गर्न नदिने, पार्टीलाई शक्तिशाली बन्न नदिन नेतृत्व बीचमा विभाजन गर्न खोजिरहेको भन्दै त्यस्तो भ्रममा नपर्न होसियारीपूर्वक बस्न कार्यकर्तालाई सचेत गराए । अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टी रुपान्तरण हुने भयो भन्ने भएपछि केहि मान्छेहरु तिल्मिलाएको र सोहि कारण नेतृत्वमा दरार र विभाजन गर्ने प्रयासमा ती तत्वहरु लागेको उनको आरोप छ । उनले पार्टीमा बैचारिक संघर्ष हुने भएपनि व्यक्ति स्वार्थलाई केन्द्रविन्दुमा राखेर गुट बनाउने र आफ्नो स्वार्थमा प्रयोगहरुलाई निरुत्साहित गर्नसमेत आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।