नेपालको विश्व कप टी–२० खेल्ने सपना अधुरै

- नेपाली राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी सीता रानामगर प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनिन्। सीताले प्रतियोगिताभर ५ खेलमा १०० रन बनाउनुको साथै ६ विकेट लिएकी थिइन्


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७८ मा प्रकाशित




नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना फेरि पनि एक पटक अधुरै बनेको छ।

आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित बनेपछि नेपालको विश्वकप यात्रामा पूर्णविराम लागेको हो।

प्रतियोगिताका ५ खेलमध्ये नेपालले ३ खेलमा जित निकाल्दै बाहिरियो। ६ टिम सहभागी प्रतियोगितामा यूएईले शत प्रतिशत जित निकाल्दै ५ खेलबाट १० अंक जोडेर ग्लोबल क्वालिफायरमा स्थान बनायो।

ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई फराकिलो अन्तरले हराउनुपर्नेमा उल्टै हार खेप्यो। यूएईले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ७९ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाइन्। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङतर्फ यूएईका लागि समाइरा धरनिधरकाले ४ विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नाले समान २/२ विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो। यूएईका लागि चमानी सेनेविरत्नाले ५२ र तीर्था सतिसले ४७ रन बनाइन्। बलिङतर्फ नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र संगीता राईले १/१ विकेट लिए।

सिता, ‘प्लेयर अफ द टुर्नामेन्ट’

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी सीता रानामगर प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनिन्।

यूएईमा भएको आईसीसी महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसियाली छनोट प्रतियोगितामा सीताले प्रतियोगिताभर ५ खेलमा १०० रन बनाउनुको साथै ६ विकेट लिएकी थिइन्।

हङकङविरुद्धको पहिलो खेलमा ४० रन बनाएकी सीताले १ विकेट लिएकी थिइन्। त्यस्तै, भुटानविरुद्धको खेलमा ३ विकेट लिएकी थिइन् भने १७ रन बनाएकी थिइन्। कुवेतविरुद्ध भने सीताले खेल्न सकिनन्।

प्रतियोगिताको तेस्रो खेलमा सीताले मलेसियाविरुद्ध ३० रन जोडिन्। मलेसियाविरुद्धको खेलमा सीताले १ विकेट लिइन्। यूएइसँगको अन्तिम खेलमा भने १ विकेट लिएर १३ रन जोडेकी थिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।