घरको एउटा कोठामा सामान्य ओछ्यान छ । ओछ्यानमा लम्पसार परेर सुतेका छन् ७५ वर्षिय चुडामणी खनाल । जो आफै उठ्न सक्दैनन् । उठ्न मात्रै होइन, बोल्नसमेत सक्दैनन् । कहिले ईशारा बुझ्छन् त कहिले बुझ्दैनन् । सुन्छन् तर रेस्पोन्स गर्न सक्दैनन् । उनी हुन् पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्राध्यापक तथा हास्यव्यंग्य साहित्कार चुडामणी खनाल ।

हास्यव्यंग्यकार खनाललाई यस्तो भएको झण्डै १३ महिना भयो । २०७७ साल कात्तिक १७ गते विहान २ बजे घरमै सुतेका बेला उनलाई उच्च रक्तचाप (व्लड प्रेसर)ले हान्यो । जसका कारण उनलाई प्यारालाइसिस भएको छ । झण्डै एक वर्ष एल्लोपेथिक उपचार अन्तर्गत नसा सम्बन्धी औषधी खुवाउनुका साथै दिनहुँ थेरापी गरियो । तर बीसको उन्नाईस भएन । एल्लोपेथिक उपचारबाट सम्भव नभएपछि थप उपचारबारे छलफल भयो । पारिवारिक सल्लाहपछि उनलाई अहिले आयुर्वेदिक उपचार थालिएको छ । आयुर्वेदिक उपचार पश्चात उनलाई केहि सुधार भएको छ । बोल्न नसक्ने उनी फाट्टफुट्ट बोल्न थालेका छन् । पहिले भन्दा बढी चल्मलाउन र प्रतिक्रिया जनाउन थालेका छन् ।

चुडामणी आफै खान सक्दैनन् । खान मात्र होइन उनी आफै दिशापिसाबसमेत गर्न सक्दैनन् । उनलाई डाईपर लगाई दिनुपर्छ । दिशापिसाबले भरिएपछि डाइपर फेरिदिने, सरसफाई गरिदिने गरिदिनुपर्छ । चुडामणीलाई ह्वीलचेयरमा राखेर खुवाउनुपर्छ । यी सबै गर्नका लागि श्रीमती मञ्जु र दुई छोराहरु अवदेशमणि र विश्वमणी खटिन्छन् ।

चुडामणीलाई अहिले दैनिक रुपमा आयुर्वेदिक औषधीको प्रयोग गरेर थेरापी गर्नुपर्छ । थेरापी गर्न नजिकैको थेरापी सेन्टरबाट थेरापिस्ट आउँछन् । जसका लागि दैनिक १५ सय तिर्नुपर्छ । त्यसबाहेक महिनामा झण्डै १५ हजार औषधीलगायतमा खर्च गर्नुपर्ने बाध्यता छ । उनको उपचारका लागि हालसम्म झण्डै २० लाख खर्च भइसकेको चुडामणिका कान्छा छोरा अवदेशमणि खनालले बताए । अहिलेपनि बुबाको उपचारका लागि झण्डै मासिक ६० हजार खर्च लाग्ने उनले जानकारी दिए ।
चुडामणी सुतेको छेउकै अर्को कोठामा उनले लाइब्रेरी बनाएका छन् । जहाँ उनले लेखेका तथा संगालेका पुस्तकहरु छन् । चुडामणीले गण्डकी अञ्चलमा पाइने लोकपद्य (सोधखोज), भैंसीको साग (हाँस्यव्यंग्य निवन्ध संग्रह), मर्न त शनिबार नै पर्छ कि ? (हाँस्यव्यंग्य निवन्ध संग्रह), चिप्लेढुंगाका महामानवसँग सहवार्ता (हाँस्यव्यंग्य निवन्ध संग्रह), कान्तिपुरेय र अरुहरु (हाँस्यव्यंग्य निवन्ध संग्रह), मुद्धा दायर गर्नुपर्छ कि ? (हाँस्यव्यंग्य निवन्ध संग्रह), खेत बाँझो छ, छोरो बेरोजगार छ (हाँस्यव्यंग्य निवन्ध संग्रह), चक्रपाणी चर्चा (परिचर्चा) पोखरा–ज (हाँस्यव्यंग्य निवन्ध संग्रह), पारखीका कसीमा माधवीय केहि काव्यकृतिहरुलगायतका पुस्तकहरु प्रकाशित छन् । उनको मोतीदेखि कदीसम्म (समीक्षा) पुस्तक भने प्रकाशोन्मुख छ ।
घरभरी आफैले लेखेका पुस्तकहरु अनि संगालेका सयौं पुस्तकहरुले उनलाई अहिले गिज्याईरहेको छ । त्यहि पुस्तक प्रकाशन गर्न लाखौं खर्च गरेका उनी अहिले उपचारका लागि आर्थिक अभाव भएर बस्नुपरेको छ । लाजपनि लजाउँछ होला भनेजस्तै उनको हालत देखेर ती पुस्तकहरुपनि लज्जाबोध गर्दा हुन् सायद ! छोरा अवदेशमणिले बुबाको उपचारका लागि खर्च अभाव भएको बताए । ‘अहिलेसम्म जेनतेन खर्च ग¥यौं तर अब थप उपचार गर्न गाह्रो भयो, कसैले सहयोग गरिदिए हुन्थ्यो’–उनले भने ।
परिवारलाई आयुर्वेदिक उपचारबाट केहि सुधार हुन्छ कि भन्ने आशा छ । तर खर्चले ढाड सेक्न लागेकाले सहयोगको अपेक्षा गरिएको उनको भनाई छ । उनलाई काठमाडौं न्यूरो अस्पताल वा भारतलगायतका विदेशी अस्पताल लैजाँदा बुबाको उपचार हुन्थ्यो कि भन्ने लागेको छ । तर खर्च नभएकाले मन खुम्च्याएर बस्नुपरेको उनले बताए । भने,‘सहयोग पाए त राम्रो ठाउँमा उपचारका लागि लैजान हुन्थ्यो, के गर्नु खर्च नभएपछि चुप लागेर बस्नु परेको छ ।’
साहित्यकार खनाललाई स्थानिय, प्रदेश र संघ कुनैपनि सरकारले सहयोग गरेको छ । त्यतिमात्र होईन ४० वर्षसम्म पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका उनलाई सोहि क्याम्पसलेपनि सहयोग गरेको छ । बरु उनका सहकर्मी, अग्रज तथा अनुज पुस्ताका साहित्यकारहरुले पनि व्यक्तिगत रुपमा सहयोग गर्नेगरेको छोरा अवदेशमणिले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







