उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७८ मा प्रकाशित




पोखरा । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले औद्योगिक क्षेत्रको विकासका लागि उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।

रुपन्देही उद्योग सङ्घको ४४औँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित उद्योगी सम्मान तथा उत्कृष्ट औद्याोगिक पत्रकारिता पुरस्कार २०७७ वितरण समारोहमा उनले उद्योगमैत्री वातावरण बनाउन नसक्दासम्म राष्ट्रिय विकास हुन नसक्ने उल्ल्ेख गरे ।

नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीमा रहेको परनिर्भर भावनाको अन्त्य हुनुपर्ने धारणा राखे । प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग आजको राष्ट्रिय आवश्यकता रहेको बताउँदै वास्तविक धरातलमा बसेर चिन्तन गर्नुपर्ने बेला भएको बताए ।

राष्ट्रिय पूँजीको संरक्षण र विकासका लागि नीतिगतरूपमा स्पष्ट हुँदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै उनले प्रतिस्पर्धाको युगमा आफूलाई त्यसैअनुसार उभ्याउन सक्नुपर्ने बताए । प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले नेपालमा स्वदेशी उद्योगको स्थापना र विकासका लागि बनेका नीतिमा केही राम्रा कुरा भए पनि त्यसको सही कार्यान्वयन एवं प्रयोग गर्न नसकिएको धारणा राखे । उनले पछिल्ला समयमा उद्योगबाट पलायन भएर व्यापारतिर लाग्ने प्रवृत्ति बढेकाप्रति सचेत गराउँदै त्यसको कारण खोज्दै समस्याको पहिचान गरी औद्योगिक विकासमा लाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले उद्योग सङ्घले आफू र आफ्नो ब्राण्ड स्थापित गर्न धेरै समय खर्चेको स्मरण गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्ने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।