फाइल तस्विर : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वले पार्टीलाई सिद्धान्त अनुसार हिंडाउन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनको विहीबार पोखरामा उद्घाटन गर्दै उनले नेतृत्वले पार्टीलाई कांग्रेसको सिद्धान्त, बिचार र आदर्श अनुसार हिंडाउन नसकेको आरोप लगाएका हुन् । उनले झण्डै ७० प्रतिशत जनमत भएको कांग्रेस २५ प्रतिशतमा खुम्चिएको भन्दै यसो हुनुमा पार्टी सिद्धान्त अनुसार नहिंडेर भएको बताए । उनले पार्टी गुट, उपगुटमा विभक्त बनेको भन्दै यहि कारण पार्टी कमजोर भएको बताए । नत्र नेताचाहिं बलियो अनि पाटीचाहिं कसरी कमजोर भयो भन्ने प्रश्न गर्दै उनले भने,‘नेतृत्व अहिले आँखा बन्द गरेर एकोहोरो हिंडिरहेको छ, यहि कारण पार्टीले असफलता बेहोरिरहेको छ, पार्टीका उम्मेद्वारहरुले हार बेहोरिरहेका छन्, त्यसैले अब नेतृत्वले आँखा खोल्नुपर्छ ।’ उनले पार्टीलाई सुधार्नुपर्ने भन्दै त्यसका लागि नेतृत्व सुध्रिन तयार हुनुपर्ने बताए ।
नेता पौडेलले पार्टीलाई सुधार्न गुट उपगुटलाई समाप्त पार्नुपर्ने बताए । ‘तपाईंहरु देउवा वा पौडेल वा अरु केहि गुट नभनी सक्षम नेतृत्व छान्नुस्’–उनले भने । म कतापट्टीको हो भनेर हेर्ने कि पार्टीको हित हेर्ने ? भन्ने प्रश्न गर्दै उनले अगाडि थपे,‘पार्टीको हित कहाँ छ ? लोकतन्त्रको हित कहाँ छ ? अनि राष्ट्रको नेतृत्व गर्नसक्ने कांग्रेस कसरी बन्न सक्छ भनेर आँखा खोलेर हेर्ने ? त्यसैले साथीहरुलाई म अनुरोध गर्न चाहन्छु हामी गुटबन्दीको शिकार नबनौं ।’ गुटबन्दी गर्दा नेता÷कार्यकर्तामा न्याय मर्ने उनको भनाई थियो ।
बरिष्ठ नेता पौडेलले सरकारलाई सर्वोच्च अदालतको समस्या समाधान गर्ने कि रमिता हेरेर बस्ने भनेर प्रश्नसमेत गरेका छन् । ‘जसले घुस खुवाउँछ, त्यसले मात्र न्याय पाउँछ । कता गए व्यवस्था ? कुन सेटिङमा चलिरहेको छ ? सर्वोच्चमा भएको आन्दोलन हेरेर बस्ने कि समाधान गर्ने भनेर मैले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा र प्रचण्ड दुबैलाई भनेको छ’–उनले भने ।
बरिष्ठ नेता पौडेलले आफूलाई प्रदेश कांग्रेसले अपमान गरेकोसमेत गुनासो गरे । पौडेललाई प्रमुख अतिथि भनेर बोलाएपनि भर्चुअल रुपमा देशव्यापी प्रदेश अधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले गरेपछि देउवालाई प्रमुख अतिथि र पौडेललाई विशेष अतिथि भनेर आयोजकले सम्बोधन गरेपछि उनले यस्तो गुनासो गरेका हुन् । उनले भने, ‘कहिं नभएको जात्रा हाँडीगाउँमा, कहिं नभएको व्यवस्था कांग्रेसको १४ औं महाधिवेशनमा ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







