चितवनलाई यातायात सेवाको हब बनाइन्छः अध्यक्ष दाहाल


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७८ मा प्रकाशित




चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन् । यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम आज शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताए ।

जिल्लावासी यातायातसँग सम्बन्धित कामका लागि टाढा जानु नपर्नेमा जोड दिँदै उनले भने, “यो क्षेत्रलाई नेपालकै ठूलो यातायात सेवाको हब बनाइने छ ।” यातायात कार्यालयका लागि जग्गा र पूर्वाधार निर्माणका लागि पहल गरिने उनको भनाइ थियो । चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले धेरै प्रयासपछि यो सेवा शुभारम्भ भएकामा खुशी व्यक्त गरे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यातायात कार्यालयका लागि जग्गा उपलब्ध गराउन र संरचना निर्माणका लागि आवश्यक बजेट व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरे । उनले आफू महानगर प्रमुख भएदेखि नै गरिएको पहल आज सार्थक भएको छ भने । नेपाल यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष राम सुवेदीले जग्गा प्राप्ति, बजेट, दरबन्दीजस्ता अत्यावश्यक कामका लागि अध्यक्ष प्रचण्ड र महानगरप्रमुख दाहालसँग अनुरोध गरे ।

कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार एम्बुलेन्सको सवारी दर्ता प्रमाणपत्र र नवीकरण गरिएको सवारी चालक अनुमतिपत्र हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । उनले हाल स्मार्ट लाइसेन्स वितरण गर्न थालिएको र छिट्टै पुराना सवारी चालक अनुमतिपत्रको पनि नवीकरण गरिने बताए । अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नवीकरण थालिएको र आउँदो तीन÷चार महिना भित्रमा नयाँ लाइसेन्ससमेत जारी गर्ने तयारी भइरहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

चितवनमा विसंं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालय स्थापना भएको थियो । – रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।