फाइल तस्बीर
काठमाण्डौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ ।
गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी दिए । सोहीअनुसार सीमा क्षेत्रका जिल्लाले आवश्यक निर्णय गरी कार्यान्वयनसमेत गर्न थालिसकेका छन् ।
यसअघि कोभिड–१९ को सङ्क्रमण न्यून भएकाले मापदण्ड कार्यान्वयनमा केही खुकुलो भएको थियो । अहिले पनि मापदण्ड विपरीतका कार्यक्रम देखिँदै आएको छ । पुनः त्यही मापदण्ड कार्यान्वयन गरी भीडभाड कम गर्न, दुई मिटरको दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुने, सेनिटाइज गर्ने र खोप अभियानमा मानिसलाई सरिक गराउने जस्ता गतिविधिमा जोड दिन थालिएको छ ।
गृहप्रवक्ता कोइरालाले मापदण्ड पालना गराउन र सीमा प्रवेशमा सुरक्षा अपनाउँदै कडाइ गर्न थालिएको जानकारी दिए । उनले नयाँ केसको विषयमा सिसिएसमसी र स्वास्थ्य मन्त्रालयको विशेष निर्णयका आधारमा आवश्यक निर्णय गरेर अघि बढ्ने पनि बताए ।
अघिल्लो हप्ता नेपाल आएका दुई विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । त्यसको सङ्क्रमणमा गति उच्च रहेकाले सङ्क्रमण फैलिन नदिन नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको निर्णयअनुसार ओमिक्रोन देखिएका विभिन्न १० मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।
सङ्क्रमित दुई नागरिक सङ्क्रमणमुक्त भइसकेका र उनीहरुको सम्पर्कमा रहेका भनिएका ६६ जनाको परीक्षण गर्दा कसैमा नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कोभिड–१९ को पछिल्लो समयमा पुष्टि भएको नयाँ भेरियन्ट हो वा रुप परिवर्तन भएको अवस्था हो । शुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्ट धेरै छिटो फैलिनसक्ने जनाइएको छ ।
त्यसैले सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।
सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । जोखिम भएका मुुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्राप्त विवरणअनुसार हालसम्म विश्वमा २६ करोड ५७ लाख बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ । अमेरिका र युरोपपछि दक्षिण पूर्वीएसियाली क्षेत्र कोरोनाबाट बढी प्रभावित छ । हालसम्म ५२ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
नेपालमा भने ५४ लाखभन्दा बढीमा परीक्षण गर्दा नौ लाख १९ हजारमा सङ्क्रमण भएको तथ्याङ्क छ ।
अहिलेसम्म ११ हजार ५४७ को मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमणदर १७ दशमलव छ प्रतिशत छ । प्रति १० लाखमा ३८० को मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । केही शहरी क्षेत्रमा बढी सङ्क्रमित रहेका पनि उनले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ…





