सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।

सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी तथा डोटीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले दजर्नौंको मृत्यु भएको थियो भने करोडाँैको बालीनाली नोक्सान भएको थियो । बाढीपहिराले सुदूरपश्चिमका बझाङ, बाजुरा, बैतडी, दार्चुला तथा डोटीका नागरिकहरु अलपत्र परेका थिए भने कतिपय घरबारविहीन भएर बास बस्नका लागि पनि समस्यामा परेका छन् ।

सुदूरपश्चिमका नौवटा जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति बझाङ तथा डोटीमा भएको थियो । बेमौसमी अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौंको धनजनको क्षति भएको थियो ।

सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच/पाँच, बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई/दुई पालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।