दमाैली । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा सम्पन्न फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गलकोटले उपाधि जितेको हो । प्रतिस्पर्धात्मकरूपमा सम्पन्न खेलमा गलकोट ३–२ सेटले विजयी भएको हो । शुक्लागण्डकी नगरपालिका गत वर्ष सम्पन्न प्रथम ऋषिङ कपको विजेता हो । यसपटक शुक्लागण्डकीले उपविजेतामा चित्त बुझायो ।
स्याङ्जाको बिरुवा गाउँपालिकालाई पराजित गर्दै गलकोट फाइनलमा पुगेको थियो भने शुक्लागण्डकी भिमाद नगरपालिकालाई हराउँदै फाइनलमा पुगेको थियो । यसैगरी स्याङ्जाको बिरुवा गाउँपालिका तेस्रो र तनहुँको भिमाद नगरपालिका चौथो भएको छ ।
जितसँगै गलकोट नगरपालिकाले रु. एक लाख ४० हजार पुरस्कार प्राप्त गरेको छ भने द्वितीय भएको शुक्लागण्डकीले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो भएको बिरुवाले रु. ६० हजार र चौथो भएको भिमादले रु.३० हजार पुरस्कार प्राप्त गरेको छ । विजेतालाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार वितरण गरे । यही मङ्सिर १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १६ टोली सहभागी थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







