पोखरा । विवाहको याम छोपेर लोकगायक विष्णु खत्रीले मौलिक पञ्चेबाजा गीत ‘मलाई हतार भइसक्यो’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको उक्त गीतको भिडियोले २० हजारभन्दा बढी भ्यूज बटुलिसकेको छ ।
गीतमा गायक खत्रीका साथै रेनु रानामगरको स्वर छ । गीतको रचना र सङ्गीत पनि खत्रीकै रहेको छ । म्युजिक भिडियोमा कलाकार लोमस शर्मा, मेलिना थापालगायतको अभिनय देख्न पाइन्छ । भिडियोको निर्देशन दिलीप रेग्मीले गर्नुभएको छ । मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्न पञ्चेबाजा गीत ल्याएको गायक खत्रीले बताए । गीतमा बागलुङको गलकोट, बडिगाडसहित छिमेकी मुसीकोट नगरपालिकाका सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको वर्णन छ । गीतको सवालजवाफमा स्थान विशेषलाई प्रतिकात्मकरूपमा उठान गरिएको छ ।
माया, प्रेमको गीत भए पनि त्यसमा प्रयुक्त शब्द र भिडियोका दृश्यले पर्यटकीय ठाउँको प्रचार र प्रवद्र्धन हुने विश्वास लिइएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा सक्रिय गायक खत्रीका यसअघि ‘जाउँला ढोरपाटन’लगायत दर्जनौँ पञ्चेबाजामा आधारित गीत सार्वजनिक भइसकेका छन् ।
नेपाली जनजीवनका सुख, दुःख र भोगाइलाई गीतमार्फत सजीव ढङ्गले उर्तान सफल गायक/सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’लगायतका गीत धेरै रुचाइएका छन् ।
गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका गायक खत्री यसै साता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल गण्डकी प्रदेशले प्रदान गर्ने नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार, २०७८ बाट पुरस्कृत समेत भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







