नेकपा माओवादी केन्द्र गण्डकीको अधिवेशनको तयारी अन्तिम चरणमा

- ८४६ जना प्रतिनिधि सहभागि हुने


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि प्रदेशको राजधानी पोखरामा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेकपा माओवादी केन्द्रले यहि मंसिर २५ र २६ गते सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन एकैसाथ गर्दैछ । अधिवेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकैसाथ सात प्रदेशसहित भुगोलका तीन गरि कुल १० वटा प्रदेशको भर्चुअल रुपमा उद्घाटन गर्ने जनाइएको छ ।

गण्डकी प्रदेशको अधिवेशन प्रदेश राजधानी पोखरामा रहेको पोखरा सभागृहमा गर्ने तयारी गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रीय सदस्य हितराज पाण्डेले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

पार्टीको प्रथम अधिवेशनमा प्रदेशका ८ सय ४६ जना प्रतिनिधिहरु सहभागि हुने ईञ्चार्ज पाण्डेले बताए । उनका अनुसार अधिवेशनमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकासहित प्रदेशका ८५ वटै स्थानिय तहबाट ६ सय प्रतिनिधि सहभागि हुनेछन् । त्यस्तै मनोनित ६० जना, आयोजक कमिटीका ९६ जना, ज्येष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेशबाट ४३ जना र प्रदेश सल्लाहकार ४७ जना सहभागि हुने ईञ्चार्ज पाण्डेले जानकारी दिए । माओवादीको अधिवेशनमा प्रतिनिधिबाहेक अन्य कार्यकर्ता तथा सर्वसाधारणलाई सहभागि नगराईने भएको छ । अन्य पार्टीले अधिवेशन गर्दा शक्ति प्रदर्शन गर्ने गरेपनि माओवादी केन्द्रले अधिवेशनको उद्घाटन शत्रमापनि कार्यकर्ता तथा शुभेच्छुकलाई सहभागि नगराउने भएको हो । ‘हाम्रो अधिवेशनमा प्रतिनिधि मात्र सहभागि हुन्छन्, यसपटक हामी कार्यकर्ता तथा शुभेच्छुकलाई सहभागि गराउँदैनौं’–उनले भने ।

प्रदेश कमिटी २२९ सदस्यीय हुने पाण्डेले बताए । उनका अनुसार कमिटीमा ९ पदाधिकारी हुनेछन् । कमिटीमा कम्तिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित, मुश्लिम तथा सिमान्तकृतहरुको प्रतिनिधित्व रहने उनले बताए ।

अधिवेशनको अवसरमा माओवादी केन्द्रको प्रदेश कमिटीले कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याई पु¥याउन र जनयुद्धका क्रममा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्ति र उनीहरुको परिवारलाई सम्मान गर्ने प्रदेश सचिव देवेन्द्र पराजुलीले जानकारी दिए ।

माओवादी केन्द्रमा शुरुमा सदस्य मात्र चयन गर्ने र सो समितिका सदस्यले अध्यक्षसहित पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ । माओवादीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र सहमति नभएमा मात्र निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी गरेको छ । ‘हामी सकभर सर्वसम्मत नेतृत्व चयनमा लाग्नेछौं, सक्दै सकेनौं भनेमात्र चुनावी प्रक्रियामा जान्छौं’–ईञ्चार्ज पाण्डेले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।