नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आज (शुक्रबार)देखि काठमाण्डौमा सुुरु हुँदैछ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा आजै दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ। भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको काँग्रेसले जनाएको छ। एद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन्।
विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने काँग्रेसले जनाएको छ।
महाधिवेशन उद्घाटन हुनुअघि आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन हुनेछ। एद्घाटन सकेपछि आजै बन्दसत्र सुरु गर्ने तयारी छ।
नयाँ नेतृत्वको लागि मतदान भने सोमवार बिहान ८ बजेदेखि सुरु गर्ने कार्यतालिका छ। महाधिवेशनले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ।
महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन्। काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ को निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।
यसैगरी, खुला केन्द्रीय सदस्य ३५, महिला ९, प्रत्येक प्रदेशबाट ३/३ जनाका दरले २१, दलित ९, आदिवासी÷जनजाति १५, खस-आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपाङ्गबाट १ सदस्य गरी कूल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







