आज डिसेम्बर ११ तारिक अर्थात ८ औं अन्तर्राष्ट्रिय पर्वतीय दिवस।
आजको दिन नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै छ।
नेपालमा पर्वतारोहण संघको आयोजनामा विशेष कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक वर्ष ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो।
नेपाल पर्वतारोहण संघले गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय बृहत पर्वतीय मेला आयोजना गर्दै आएको छ। यस वर्ष भने संघले पोखरा महानगरपालिकाभित्रका विद्यालयहरुमा अध्ययनरत् कक्षा ११ र १२ का विद्यार्थीबीच ‘पोखराको पर्यटन प्रबद्र्धनमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको भूमिका’ विषयक वक्तृत्वकला, पत्रकार तथा संचारकर्मीसँगको अन्तरक्रिया र टिक टक प्रतियोगिताको आयोजना गरेको छ।
पृथ्वीको कूल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कूल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
नेपाल तेस्रो ध्रुवका रुपमा चिनिने हिन्दू कुश हिमालय क्षेत्रमा पर्छ। यो क्षेत्रमा रहेका ८ देशमध्ये नेपाल धेरै पर्वतीय क्षेत्रले ढाकिएको देश हो।
जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा चाँडो र अलि बढी प्रभाव पार्ने अनुसन्धानहरुले देखाएका छन्। सोहीअनुसार नेपालसहितका हिन्दू कुश हिमालय क्षेत्रका देशहरुको मुद्दा साझा रुपमा केही समय पहिला स्कट्ल्याण्डमा भएको कोप–२६ मा उठाएका पनि थिए।
हिन्दू कुश हिमालय (एचकेएच) पृथ्वीका २ ध्रुवपछि सबैभन्दा धेरै हिउँ अर्थात जमेको अवस्थामा पानी रहेको क्षेत्र हो। अनौपचारिक रुपमा थर्ड पोल (तेस्रो ध्रुव) का रुपमा समेत चिनिने हिन्दू् कुश हिमालय क्षेत्र नेपालसहित ८ देश (अफगानिस्तान, बंगलादेश, भूटान, चीन, भारत, म्यानमार, नेपाल, पाकिस्तान) को करिब ३४ लाख ४१ हजार ७ सय १९ वर्ग किलोमिटरमा फैलिएको छ।
‘थर्ड पोल’ एसियाका १० ठूला नदी संरचनाको स्रोत हो। २४ करोडको बसोबास रहेको हिन्दू कुश हिमालय क्षेत्र हुँदै बग्ने नदीहरु पर्वतीय तथा तल्लो तटीय क्षेत्रका एक अर्ब ९० करोडभन्दा बढी मानिसका लागि पानीको स्रोत हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







