काँग्रेस महाधिवेशनमा आज मनोनयन दर्ता

- (हेर्नुहोस, निर्वाचन तालिका)


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित




नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुँदैछ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको संख्या जम्मा ४ हजार ७ सय ४३ कायम रहेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १ सय ६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिसकेको छ।

यसअघि, हिँजो (शुक्रबार) अबेर राती बसेको बन्दसत्र राति १० बजे सम्पन्न भएको छ। बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश भएकामा सबै पारित भएका छन्।

यसैगरी बन्द सत्रमा १४ औं महाधिवेशन तयारीका क्रममा काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पनि अनुमोदन भएको छ।

निर्वाचन कार्यक्रम

उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने काँग्रेस निर्वाचन समितिले जानकारी दिएको छ। यस्तै, आज बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म रहेको छ। यस्तै, मनोनयनपत्र फिर्ताका लागि भोलि आइतबार बिहान ११ बजेसम्म तोकिएको छ।

यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु हुनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ।

यस्तै, सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ। सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरूको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनमा काँग्रेसले कोषाध्यक्षबाहेक सबै पदाधिकारीको चयन प्रत्यक्ष निर्वाचनबाट गर्दैछ। महाधिवेशनले १५ जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। काँग्रेसको १४ औँ महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुनेछन्।

सभापति, उपसभापति र महामन्त्रीका लागि क्लस्टर नछुट्याएको काँग्रेसले सह–महामन्त्रीका लागि भने क्लस्टर छुट्याएको छ। सह–महामन्त्री ८ पदध्ये महिलाबाट १, आदिवासी जनजातिबाट १, दलितबाट १, मधेसीबाट १, खस–आर्यबाट १, थारूबाट १, मुस्लिमबाट १ र पिछडिएको क्षेत्रबाट १ जना निर्वाचित हुनेछन्।

महाधिवेशनबाट कम्तिमा १० वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना निर्वाचित हुनेछन्। यस्तै, महिलाबाट ८, प्रत्येक प्रदेशबाट १ महिलासहित ३, दलितबाट ४ महिलासहित ९, आदिवासी जनजातीबाट ७ महिलासहित १५, खस–आर्यबाट ६ महिलासहित १३, मधेशीबाट ४ महिलासहित ९, थारुबाट २ महिलासहित ४, मुस्लिमबाट १ महिलासहित ३ र पिछडिएको क्षेत्रबाट १ जना केन्द्रीय सदस्य चुनिनेछन्।

यसैगरी, महाधिवेशनमा अल्पसंख्यक र अपाङ्गताबाट १÷१ निर्वाचित हुनेछन् भने केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ। यसैगरी, केन्द्रीय सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचित गरेका एक कोषाध्यक्ष हुने व्यवस्था छ।

१४ औँ महाधिवेशनबाट निर्वाचित हुने १ सय ३५ र सभापतिले मनोनित गर्ने ३३ गरी काँग्रेसको केन्द्रीय कार्यसमितिमा १ सय ६८ सदस्य हुनेछन्।

केन्द्रीय सभापतिको निर्वाचनका लागि उम्मेदवार हुनेले ३० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ। यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार रूपैयाँ तथा सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्य पदका लागि १० हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।