पोखरा लगायत देशभर चिसो बढ्यो, भोलीसम्म कायम रहने, सतर्क रहन सुझाव

- आइतबार, दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सोमबार, गण्डकी लगायत लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सभावना छ


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर/सौजन्य

पछिल्लो पटक पोखरा सहित देशभर चिसो बढ्न थालेको छ।

पोखरामा दिउँसो घाम लागेपनि बिहान र साँझ चिसो बढेको छ।

पोखरामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ९ दशमलव २ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुमान गरिए पनि चिसो मौसमको महसुस गरिएको छ।

विशेषगरी, राति र बिहान तापक्रम घट्न थालेको छ र चिसो बढेको छ। यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो कपडा लगाउँदा चिसोबाट बँच्न सकिन्छ।

त्यस्तै, काठमाडौं उपत्यकामा पनि दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ५.४ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ।

जुम्लाको तापक्रम माइनस ४.७ डिग्री मापन गरिएको छ। त्यहाँ अधितम तापक्रम १५.९ डिग्री रहेको छ।

तराईमा पनि चिसो बढेको छ। तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो। धेरै गर्मी हुनेमध्येको नेपालगन्जमा न्यूनतम तापक्रम १०.३ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ। विराटनगरको न्यूनतम तापक्रम ११.५ र अधिकतम २५.३ मापन गरिएको छ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ,’ महाशाखाले आग्रह गरेको छ।

आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ। दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ।

सोमबार, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।