काँग्रेस १४ औँ महाधिवेशन : १३४ पदका लागि ५४८ उम्मेदवार

- आज (आइतबार) बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय। भोलि (सोमबार) बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (आइतबार) बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएको छ।

हिँजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ।

काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ। उपसभापतिमा ७ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, महामन्त्रीमा ६ जना, सह–महामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ।

संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा उम्मेदवार छन् भने संस्थापन इतर समूह विभाजित भएको छ। यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन्। त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। कल्याण गुरुङ र युवराज न्यौपाने पनि सभापतिको उम्मेदवार बनेका छन्।

केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५ सय ४८ जना उम्मेदवार छन्। काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ को निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी, खुला केन्द्रीय सदस्य ३५, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी र जनजाति १५, खस–आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपाङ्गता भएकाबाट १ सदस्य गरी कुल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ। १४ औँ महाधिवेशनमा प्रतिनिधिको संख्या ४ हजार ७ सय ४३ रहेको छ। भोलि (सोमबार) बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ।

भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाइएको छ। मतदान मतपत्रमार्फत गर्नुपर्नेछ। शुक्रवार भृकुटीमण्डपमा काँग्रेस महाधिवेशनको उद्घाटन भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।