बागलुङ । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु. पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो ।
नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले सहयोगको याचना गरेका थिए । अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताए । जापानमा रहेका नेपालीहरुबाट सो रकम जुटाइएको उनको भनाइ छ ।
अस्पतालको शय्यामा रोगसँग जुधिरहेकी छोरीका लागि प्रवासी नेपालीले पठाएको आर्थिक सहयोग बुझ्दा लालमाया भावुक बनेकी थिइन् । सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सहयोग जुट्दै गएमा छोरीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ की भन्ने आशमा लालमाया छिन्। उनी १५ वर्षदेखि श्रीमान् बाट अलगिएर माइतीमा बस्दै आएकी छिन्।
मिर्गौलापीडित छोरी मुनासहित चार सन्तान र ९८ वर्षीया आमाको लालनपालनको अभिभारा लालमायाकै काँधमा छ । दैनिक ज्यालामजदुरी गरेर परिवार धान्ने उनीलाई छोरी रोगले थलिएपछि अर्को बज्रपात परेको छ । उपचारमा लाग्ने लाखौँ खर्च कसरी जुटाउने भन्ने पिरलो छ । मुना कक्षा १२ मा अध्ययनरत छिन् । रोगले सताएपछि उहाँको पढाइ पनि प्रभावित बनेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







