कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र छः डब्ल्यूएचओ


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न आग्रह गरेका छन् ।

कतिपयले आफैं जोखिममा पर्ने गरी यो भाइरसलाई अवमूल्यन गरेको देखेको उनको भनाइ छ । गेब्रेयससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । संभवतः ७७ भन्दा बढी मुलुकमा ओमिक्रोन पुगिसकेको अनुमान गर्दै उनले केही मानिसहरुले ओमिक्रोनलाई ‘सामान्य भेरियन्ट’ भनेर बेवास्ता गरेको गुनासो गरे ।

अबका केही दिनमै ओमिक्रोन युरोपका केही देशमा सबैभन्दा प्रभावी भेरियन्ट हुनसक्ने संकेत देखिएको पनि बताए । ओमिक्रोन पुष्टि हुनासाथ केही देशहरुले बुस्टर डोजका लागि कोरोना भाइरसविरुद्धको खोप थुपार्न थालेकोप्रति गेब्रेयससले असन्तुष्टिसमेत जनाए ।

अन्तर्राष्ट्रिय स्तरमा खोपमा देखिएको असमानता हटेपछि मात्रै महामारी अन्त्य हुने बताउँदै उनले भने, ‘हामीले असमानता अन्त्य गर्यौं भने महामारी पनि अन्त्य हुनेछ, यदि हामीले असमानता जारी राख्यौं भने महामारी पनि जारी रहनेछ ।’ तर डब्ल्यूएचओ बुस्टर डोजको विरुद्धमा नरहेको प्रष्टीकरण उनले दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।