कास्की । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएका छन् । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा सिल्भर काप र विगहेड जातका १६ हजार माछाका भुरा छाडेका हुन् ।
उनले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई ‘ब्राण्डिङ’ गर्नुपर्नमा जोड दिए । पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा विकास गर्न सकिने बताए । पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछालाई ब्राण्डिङ गरेर बिक्री वितरणका लागि बजारीकरण र विविधीकरण गर्नुपर्ने बताए ।
स्थानीय ज्ञानबहादुर जलारीले फेवातालमा करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुँदै गएको र सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे । जलारी समुदायको जीवनयापनको आधार भएको माछा भएको र यसको लागि उत्पादन संरक्षणमा महानगरले विशेष चासो दिनुपर्ने उनको भनाइ थियो । उक्त वडाका अध्यक्ष रणबहादुर थापाले वडास्तरीय बजेटले तालमा माछाका भुरा छाडिएको जनाउँदै माछाबाट स्थानीय जलारी समुदायको जीवनस्तर उकास्न सहज भएको धारणा राखे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







