जुम्ला । घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै जुम्लाका महिला यतिबेला भने सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङख्या बढ्दै गएको हो ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकाले घरमै सुत्केरी गराउने दरमा कमी आएको छ । घरमा सुत्केरी गराउँदा रक्तस्राव धेरै हुने, साल फुक्न नसक्नेलगायतका समस्या आउने गरेका थियो । अहिले स्वास्थ्य संस्थामा दक्षस्वास्थ्यकर्मीद्वारा सुत्केरी गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
नियमित गर्भजाँच गर्नेदेखि स्वास्थ्यकर्मीको परामर्शका आधारमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भइरहेको उनको भनाइ छ । स्थानीयवासीले पनि सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा र पोषण सुधारका कार्यक्रम सञ्चालन गरेको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार १२३ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये एक हजार ५१२ जनाले तालिम प्राप्त स्वास्थ्यकर्र्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन् । ६११ जनाले सामान्य रुपमा प्रसूति सेवा लिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा ५३३ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये ३९६ जनाले तालिम प्राप्त स्वास्थ्यकर्र्मीबाट र १३७ जनाले सामान्य रुपमा सुरक्षित प्रसूति सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका सिनियर अनमी मोर्चा शाहीले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स…







