अव नेपालमा कोभिडविरुद्धको मोर्डना खोप लगाईने


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित




हेटौँडा । नेपालमा अव कोभिडविरुद्धको मोर्डना खोप लगाईने भएको छ । सरकारले आजदेखि सातवटै प्रदेशका ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप दिन सुरु गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन्। उक्त विद्यालय मन्त्री खतिवडा आफैँले अध्ययन गरेको विद्यालय हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि नेपाली बञ्चित हुनुनपर्ने बताएका छन् ।

उनले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने जनाए। अधिकांश जिल्लाबाट खोपको व्यवस्था मिलाइएकाले स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गरेको जनाइएको छ । तीन प्रदेशका आठ जिल्लामा भने यही पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान चलाइने भएको छ ।

ती आठ जिल्लामा वागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी छ जिल्ला तथा सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ । मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र आगामी माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

विद्यालयलाई खोप केन्द्र बनाउने सन्दर्भमा भने जिल्लास्तरीय प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार प्रमुख रहेको समितिले निर्धारण गरेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई÷तीन विद्यालय मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइने तय गरिएको हो । जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयमा अभियान सुरु भएको हो । पहाडी र दुर्गग जिल्लामा सय विद्याथी भएपछि खोप केन्द्र मानिएको छ भने तराई र शहरी ठाउँमा २०० विद्यार्थीलाई एक खोप केन्द्र मानिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।